शहीद रामनाथले भनेका थिए– ‘पिर नमान्नु, म मारिन पनि सक्छु’

0 3

 zxLb /fdgfysL h]7L kTgL hfg'sf emfkf ljb|f]xsf ;]gfkltem}F e"ldsfdf /x]sf qmflGtsf/L g]tf /fdgfy bfxfnsf] ;'vfgLdf @)@( ;fn kmfu'g @! ut] cfOtaf/ ;xfbt k|fKt u/]sf lyP . pgsL h]7L kTgL hfg'sf bfxfn xfn &% jif{ k'lu;s]sL emfkfsf] latf{df]8–# nfnleQLdf 5f]/L ;'zLnf;Fu a:b} cfPsL 5g . tl:a/ M rGb|snf e08f/L, emfkf, /f;;

काँकडभिट्टा, फागुन २१ । विसं २०२९ फागुनको २४ गते बुधबार । तेह्रथुम आठराईको होडा गाउँमा मकै छर्न बारीमा डल्ला फोर्ने बेला भएको थियो । डाँडापाखा सुक्खा थिए । चहकिला घामले दिउँसो हपहपी गर्मी हुन्थ्यो । रुखहरूका पहेँला पात हुर्हुरे बतासको झोँकमा फन्फनी घुम्दै झर्न थालेका थिए । तुँवालोले आकाश धुम्मिएझैँ थियो ।

जानुका दाहालको मकैबारीमा मल पु¥याउन खेताला खटिएका थिए । काखमा एक वर्षको छोरो थियो । गर्भमा पाँच महिनाको छोरो । १३ वर्षकी छोरी स्कुल पढ्न गएकी थिइन् । अरु साना तीनछोरी खेल्न निस्केका थिए । खेतालालाई दिउँसोको खाजा पकाउने चटारोकै क्रममा उनी छोरोलाई चोर औँलो समाउन लगाएर डोहो¥याउँदै पधेँराबाट गाग्रीमा पानी ओसार्दै थिइन् ।

‘ए दाजु पो आउनु भएछ’ – घरमा गाग्री बिसाउन नभ्याउँदै जानुकाले माइतबाट दाजु देवीप्रसाद ओली आउनुभएको देखेपछि खुसी हुँदै बोलिन् ।

‘अँ आयौँ !’ – दाजुले थोरै बोले । दाजुसँग अर्का दुई अपिरिचित व्यक्ति पनि थिए ।

‘उहाँहरू चाहिँ ज्वाइँको साथी !’ – अपिरिचितको चिनजान गराउँदै उनका दाइले भने । साथी भन्ने बित्तिकै पतिका पार्टीका कार्यकर्ता भन्ने उनले बुझिहालिन् ।

यतिबेलासम्ममा जानुकाले गग्रेटोमा पानीको भारी बिसाइसकेकी थिइन् । ‘ला यो दही खा !’ – माइतबाटै ल्याएको एक हर्पे दही थमाउन खोजे दाइले ।

माइतबाट ल्याएको दही खाउँखाउँ किन नलाग्नु र ! तैपनि काखमा लुटपुटिरहेको छोरो र छोरीहरूलाई पहिला खुवाउन पाए हुन्थ्यो भन्ने मातृस्नेह पलायो उनमा ।

‘पहिला भान्जाभान्जीलाई खुवाउनु न, अनि म खाउँला !’ –जानुकाले भनिन् । तर दाजुले ‘यिनेरलाई पछि खुवाउँला, तँ पहिले खा न’ भन्दै जिद्दी गरिरहे ।

त्यसबेला झस्किइन् जानुका । दाजु र उनीसँगै आएका अपरिचितको अनुहार पढिन् – अँध्यारो देखिन् । उनलाई तीन महिनाअघि मधेस झरेका पति रामनाथ दाहालले बिदावारीका बेला भनेको सम्झना आयो – ‘मैले जनसङ्ग्राममा जानै पर्छ, तिमीले पिर नमान्नु । म मारिन पनि सक्छु । नरुनु, आँट र हिम्मत गरी साहस बटुलेर गरिखानु !’

अनि जानुकाको मुखबाट अचानकै फुत्कियो – ‘के खबर लिएर आउनु भयो दाजु ? ज्वाइँलाई मारे कि क्या हो ?’ उनका आँखा दाजुतिर एकोहोरिए ।

‘जे नहुनु भैगयो’, उनका दाजुले जानुकालाई सम्झाउँदै कुरो खोले– ‘अस्ति (फागुन २१ गते) ज्वाइँलाई गोली हानेर मारेछन् ।’

दाजुका यी कुराले उनलाई भाउन्न भयो । अँध्यारो भयो संसार । अगाडि केही देखिएन, आफ्ना पति रामनाथ दाहालको अनुहार बाहेक । भक्कानो फुट्यो । रोइन् बेस्सरी । सम्झाउने कोसिस निरर्थक थियो, किनकि जानुकाको सिन्दूर पुछिएको थियो । जीवनसाथी सधैँका लागि धरतीबाट बिदा भएका थिए । केही बेरमा भेला भएका गाउँलेले जानुकालाई पँधेरोमा लगेर चुरा फुटाउन र सिन्दूर पुछ्न लगाएका थिए ।

झापा विद्रोहका सेनापतिझैँ भूमिकामा रहेका क्रान्तिकारी नेता रामनाथ दाहालले सुखानीमा २०२९ साल फागुन २१ गते आइतबार सहादत प्राप्त गरेको खबर उनकी जेठी पत्नी जानुका दाहालले यसरी तीन दिनपछि मात्र पहाडको घरमा पाएकी थिइन् ।

त्यसबेला अहिलेको जस्तो यातायात र फोनको सुविधा थिएन । चिट्ठी पनि महिनौँपछि मात्र गन्तव्यमा पुग्थ्यो । तैपनि पञ्चायती शासनविरुद्ध जेहाद छेडेका क्रान्तिकारीहरूसँग सञ्चारको आफ्नै भूमिगत नेटवर्क थियो । विश्वासिला कार्यकर्ताले हप्तौँ हिँडेर पनि पार्टीका सन्देश सरकारी सुराकी र प्रशासनको आँखा छलेर सुरक्षित रुपमा टुङ्गोमा पु¥याउँथे ।

झापा विद्रोहका नायक रामनाथका दुई परिवार थिए । कान्छी विशेश्वरा मधेश झापातिरै बस्थिन् । जेठी जानुका छोराछोरी हुर्काउँदै र सासू–ससुरा पाल्दै पहाडको घर सम्हाल्थिन् । विशेश्वरा चाहिँ रामनाथसँगै पार्टीको काममा हिँड्थिन् ।

फागुन २१ गते चन्द्रगढीबाट जेल सार्ने निहुँमा इलाम लैजाँदै गरेको अवस्थामा झापा र इलामको सीमानामा अवस्थित ज्यामद्वारको सुखानी जङ्गलमा प्रहरीले लहरै गोली दागेर रामनाथलगायत पाँचजना कम्युनिस्ट कार्यकर्ताको हत्या गरेका थिए । पार्टीको च्यानलबाट यो खबर जानुकाको माइतीमा पहिला पु¥याइएको थियो । माइतीबाट दाजुले जानुकालाई सुनाएका थिए । जानुकाले पहाडमै पतिको काजकिरिया पूरा गरेकी थिइन् ।

हाल ७५ वर्ष पुगिसकेकी जानुका दाहाल झापाको बिर्तामोड–३ लालभित्तीमा छोरी सुशीलासँग बस्दै आएकी छन् । कान्छो छोरो दीपेन्द्रको दुर्घटनामा एक वर्षअघि मृत्यु भएपछि उनलाई पुत्रशोक थपिएको छ । जेठो नरेन्द्र नेकपा (एमाले)को वडा तहको नेतृत्वमा सक्रिय छन् । सबै छोरीको बिहे भइसकेको छ ।

जीवनभर दुःख र कष्टसँगै बिताएकी जानुका आफ्ना पतिले बाँचुञ्जेल गरिब र दुःखीकै हितका लागि सङ्घर्ष गरेको बताउँछिन् । ‘परिवार भनेर स्वार्थ कहिल्यै राख्नुहुन्नथ्यो’, उनी सहिद रामनाथलाई सम्झिँदै भन्छिन् – ‘म मर्छु, तर शोषक र सामन्तीसँग झुक्दिन भन्नु हुन्थ्यो ।’

पहाड र मधेसमा रहेका दुवै परिवारलाई उत्तिकै हेरचाह गर्दै आएका रामनाथ पार्टीको जिम्मेवारीकै सिलसिलामा २०२९ सालको मङ्सिरमा आठराई पुगेका थिए । त्यसबेला घरमा गर्भवती अवस्थामा रहेकी पत्नी जानुकालाई उनले निकै हेरचाह गरेको र आमाबुबालाई समेत ‘जानुकाको निकै ख्याल राख्नु है’ भन्दै अनुरोध गरेका थिए ।

सुखानीमा सहादत हुनुभन्दा तीन महिनाअघि आठराईमै रहेका रामनाथलाई ‘जरुरी काम परेको’ भन्दै झापाबाट केही कम्युनिस्ट कार्यकर्ता बोलाउन घरै पुगेको बताउँछिन् जानुका । त्यसबेला झापा विद्रोह उत्कर्षमा थियो । पञ्चायती प्रशासनले चरम दमनको नीति अपनाएर धरपकड मात्र होइन, जहाँ भेट्यो त्यहीँ गोली हानेर मार्ने ‘सुट एट साइट’को नीति लागू गरेको थियो । झापामा भइरहेको चर्को दमन छल्दै रामनाथ गर्भवती पत्नी भेट्न पहाड पुगेका थिए । तर राजनीतिक कामले उनलाई लामो समय जानुकासँग बस्न समय मिलेन ।

‘हामी सबै घरमै थियौँ । उहाँका केही साथी आएर तपाईं नगई नहुने भयो भने’, सुखानी घटनाको तीन महिनाअघि पति रामनाथसँग भएका अन्तिम कुराकानी सम्झिन्छिन् – ‘मैले जनसङ्ग्राममा जानै पर्छ Þ Þ।’

सधैँ राजनीतिक काममा बाहिर हिँडिरहने पतिलाई नजानु भन्न पनि सकिनन् जानुकाले । पतिले लगाउने गरेका सबै लुगा मैलाधैला नै थिए । घरमा साबुन थिएन । पल्लो गाउँमा रहेको माइती घरबाट साबुन ल्याएर पतिका सबै लुगा धोएर सफा बनाइदिइन् । त्यसपछि रामनाथ साथीसँग घरबाट तिनै मार्मिक सन्देश छाडेर बिदावारी भएका थिए । पतिसँगको त्यही भेट र कुराकानी नै जानुकाका लागि अन्तिम बन्यो ।

उनले सहिद परिवारलाई राहतस्वरुप दिएको रु ५० हजारभन्दा बाहेक आफूले कुनै पनि सहयोग पार्टीबाट नपाएको बताइन् ।

सहिदका नाममा कतिपय राजनीति गर्नेले विभिन्न फाइदा लिएको जनाउँदै त्यस्ता व्यक्तिहरूका कारण वास्तविक सहिद परिवार मर्कामा परेको जानुकाका जेठा छोरा नरेन्द्र दाहाल बताउँछन् । नरेन्द्रले बहिनी सुशीलाको घर छेउमै रहेको पिता रामनाथ दाहालले बनाएको पुरानो काठे घरलाई सङ्ग्रहालय बनाउन पार्टीले पहल गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । रामनाथलाई त्यही घरबाट प्रहरीले अन्तिम पटक पक्रेर लगेको थियो ।