सरकारले झुक्याएपछि दोलखा सिँगटीका भूकम्पपीडित आक्रोसित

0 3

????????????????

दोलखा, फागुन २१ । सरकारले निर्धारित समयमा पुनःनिर्माणको काम सुरु नगरेपछि दोलखाको सिँगटीबासी आक्रोसित भएका छन् ।
सरकारले आवास पुनःनिर्माणका लागि दिने दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता बिहिवारदेखि दिने भने पनि प्राधिकरण सम्बद्ध कोही पनि उपस्थित नभएपछि सिँगटीवासी आक्रोसित भएका हुन् ।

दुइ साता अघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको टोली सिँगटी पुगी फागुन २० गतेबाट पुनःनिर्माण सुरु गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा अनुदानको पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बाँड्ने कार्यक्रम तय भएको थियो ।

सरकारले पटकपटक झुक्याएको भन्दै सिँगटीबासी सरकार र प्राधिकरण विरुद्ध जिल्ला प्रसाशन कार्यालयमा डेलिगेसनको तयारीमा जुटेका छन् । यो सरकारले पुनःनिर्माणका लागि पैसा दिने र केही गर्छ भन्नेमा आशंका भएको सिँगटीका लोकराज पाठकले बताए । ‘हामी २ सय बढी मानिसहरु सिँगटीमा जम्मा भएका थियौँ, तर प्राधिकरण र सरकारको तर्फबाट कोही पनि आएन र कुनै खबर समेत गरेन ।’ उनले भने, ‘यो सरकारले भूकम्प पीडितका लागि केही गर्छ भन्ने हामीलाई लाग्दैन ।’ जाडोका लागि दिने भनिएको १० हजार रुपैयाँ लामीडाँडाका आधा जति परिवारले नपाएको उनको गुनासो छ ।

लामीडाँडाका एक हजार सात सय ८६ परिवारमध्ये सातसय भन्दा बढीले जाडोको लुगा खरिद गर्न दिने भनिएको १० हजार नपाएको उनले बताए । भूकम्प पीडितको यकिन तथ्यांक गाविस र जिल्ला दैवी प्रकोप उद्धार समितिमा समेत भएको उनको आरोप छ । यी सबै समस्यालाई लिएर सर्वदलीय डेलिगेसनको तयारी भैरहेको उनले बताए ।

दोलखा उद्योग वाणिज्य संघ सिँगटीका अध्यक्ष सुन्दर श्रेष्ठले सरकारले पटकपटक झुक्याएपछि सिँगटीबासीहरु आन्दोलित भएका बताए । जाडोको लुगावापतको पैसा नदिने सरकारले घर बनाउन दुई लाख देला भन्ने उनलाई पनि लागेका छैन । भूकम्पले सिँगटी खोला र तामाकोशी खोलाको किनार भत्काएको पुनःनिर्माणअघि तटबन्द गर्नुपर्ने उनको धारणा छ । सिँगटीको जीर्ण पुल पुनःनिर्माण गरेर मात्रै घर पुनःनिर्माणको काम थाल्न उनले सुझाएका छन् ।

यी सबै समस्या लिएर डेलिगेसन जानको लागि छलफल भैरहेको उनले बताए । सरकारले घर बनाउन दिने भनिएको दुई लाख अनुदानले काठ किन्न पनि नपुग्ने भएकोले सरकारले सहयोग बढाउनुपर्ने उनको धारणा छ ।

लामीडाँडा ५ का प्रेमबहादुर थामीले सरकारले घर बनाउन दुई लाख देला भन्ने आशा गर्दागर्दै निराश भएको बताए । थामीहरु आर्थिक रुपले विपन्न भएको र अर्काकोमा मजदूरी गरी कमाइ गरी खाने भएकोले उनीहरुलाई दुई लाख दिनुको कुनै अर्थ नभएको उनको गुनासो छ । गरिव परिवारलाई सरकारले नै घर बनाइदिए हुन्थ्यो भन्ने थामीलाई लागेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका कालीप्रसाद पराजुलीले कांग्रेसको अधिवेशन र पीडितहरुको बैंक खाता खोल्ने काममा ढिलाइ भएकोले रकम वितरणको काम रोकिएको बताए । सरकारले पीडितहरुलाई बैंक खातामार्फत रकम दिने तयारी गरेको छ । यसका लागि सदरमुकाम चरिकोट र सिँगटीमा धमाधम बैंक खाता खोल्ने काम भैरहेको छ ।