अनमोलको अगाडि हारिन् बलिउडकी प्रियंका

0 7

An

काठमाडौं ।    युवा पुस्ताका दर्शकमाझ स्टारका रुपमा चिनिएका नायक अनमोल केसीले तेस्रो फिल्म ‘ड्रिम्स’मा पनि त्यो स्टारडमलाई कायमै राखेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले पहिलो शोबाटै राजधानीमा अधिकांश हल हाउसफूल भएका छन् ।
सदाबहार अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्मले राजधानीका मल्टिप्लेक्ससहित सिंगल थिएटरका हलमा दर्शकको राम्रो साथ पाएको छ । फिल्मका उपत्यका वितरक गोविन्द शाहीका अनुसार राजधानीका क्युएफएक्ससहित, केएललगायतका सुविधासम्पन्न हलहरुमा दर्शकको चाप शुक्रबार बिहानदेखि नै बढेको छ ।

‘गोपीकृष्ण हलको इतिहासमा सम्भवत कुनै नेपाली फिल्मले चारवटा हलमा हाउसफूल दर्शक पाएको सम्भवत पहिलो पटक होला, जुन ड्रिम्सले पाएको छ,’गोविन्दले भने,‘उच्च घरानाका दर्शकदेखि तल्लो तहसम्मका दर्शकहरुको चाप अधिकांश हलमा छ ।’

गोविन्दका अनुसार गोपीकृष्णका गोपी, कृष्ण, शिवाय र नम गरी चारवटै हल बिहानी शो देखि नै हाउसफूल छन् ।

शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘जय गंगाजल’ ले अधिकांश हलमा एक शो पनि पाएन ।यो फिल्ममा प्रियंका चोपडाले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
भुवनको फिल्मसँग प्रतिष्पर्धा गर्न आएको निर्देशक दिनेश डिसीको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापार भने अत्यन्तै न्यून रहेको छ ।
सामिप्य तिमिल्सिनाको कथा रहेको फिल्ममा अनमोलसँगै साम्राज्ञलक्ष्मी शाह शीर्ष भूमिकामा छिन् ।