सामुदायिक अस्पतालको विकास जरुरी : डा भगवान कोइराला

0 6

बुटवल, फागुन २१ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सामुदायिक अस्पतालको विकास जरुरी भएको कुरा बता उनु छ ।

नेपाल चिकित्सक सङ्घ लुम्बिनी शाखाले चिकित्सक दिवसको अवसरमा बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा डा कोइरालाले सामुदायिक अस्पताल मजबुत नभएसम्म नेपालको स्वास्थ्य क्षेत्रमा उन्नति हुन नसक्नेसमेत बताए । उनले सामुदायिक तथा सरकारी अस्पतालहरु सबै किसिमले सुविधा सम्पन्न भएमात्र स्वास्थ्यमा सबैको समान पहुँच वृद्धि हुने बताए ।

कार्यक्रममा बोल्दै चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले डाक्टरको मात्र लापर्बाही देख्ने गलत धारणा समाजमा विकसित हुनु दुःखद पक्ष भएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले स्वास्थ्य संस्थामा पुगेका बिरामी भरसक मर्नु हुँदैन भन्दै चिकित्सकहरु अति संवेदनशील बन्नुपर्ने बताए ।

सङ्घका लुम्बिनी अञ्चल अध्यक्ष डा राजेन्द्र खनालको अध्यक्षता तथा सचिव डा डिबी खत्रीको सञ्चालनमा भएको कार्यक्रममा सङ्घको भवन निर्माणार्थ सहयोग गर्ने सहयोगदातालाई सम्मान पनि गरिएको थियो । ‘चिकित्सक समाजका लागि’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा बिहीबार बिहान बुटवलमा प्रभातफेरीसमेत आयोजना गरिएको थियो ।