कामनपाले सि‌ंहदरबारभित्रका ४०० कुकुरकाे व्यवस्थापन गर्ने

0 4

काठमाडौ‌ं– काठमाडौं महानगरपालिकाले शुक्रबारबाट सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन सुरु गर्ने भएको छ।

महानगरपालिकाले बिहीबार पत्रकारसम्मेलनको आयोजना गरी सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी गराएको हो। शुक्रबारदेखि सुरु गर्न लागिएको उक्त कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररुपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताएकाे छ। सोही अवसरमा महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने बताउँदै निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराए। “समय समयमा सिंहदरबारमा रहेका कुकुरका कारण उच्च व्यक्तिको सवारी हुँदा समस्या ल्याएको छ, त्यसैले व्यवस्थापनको कार्यलाई अघि बढाउन लागिएको हो। सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो,” जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठ भने। घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब ४ लाख कुकुर रहेको अनुमान गरिएको छ।