गुणस्तरीय सेवा नभए कारवाही हुने संचारमन्त्री

0 5

काठमाडौँ, फागुन २० । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार क्षेत्रमा जनताको सहज पहुँच र प्रभावकारी सेवा प्रवाहका लागि अब आक्रामक रुपमा अघि बढ्ने बताएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणको १८ औँ वार्षिकोत्सव कार्यक्रममा उनले ग्रामीण दुरसञ्चार कोषको बजेट सदुपयोग गरी प्राधिकरणमार्फत विभिन्न जिल्लामा अप्टिकल फाइबरको विकास गरी इन्टरनेट सेवाको विस्तार गर्नका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्री राईले मध्य–पहाडी पुष्पलाल राजमार्ग, विपी राजमार्ग तथा तराईका हुलाकी राजमार्गमा भू–उपग्रहमार्फत इन्टरनेट तथा अन्यसञ्चार सेवा देशभरका सबै विद्यालय, कलेजमा उपलब्ध गराउनका लागि आवश्यक कार्यलाई द्रूत गतिमा अगाडि बढाउन प्राधिकरणलाई निर्देशन समेत दिए ।
उनले मातहतका सबै निकायका कामबारे नजिकबाट र प्रभावकारी अनुगमन र व्यवस्थापन गर्दै जनताको सञ्चार सेवा उपलब्ध भए÷नभएको सम्बन्धमा आवश्यक संयोजन गर्ने समेत बताए ।

उनले विभिन्न सेवा प्रदायकले प्रदान गर्दै आएको सेवाप्रति जनताको गुनासो र असन्तुष्टि रहेको बताउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन नसक्ने सेवाप्रदायकलाई कारबाही तथा आवश्यक परेमा इजाजत पत्र रद्द गरिने जानकारी गराए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सञ्चार क्षेत्रले विधिलाई प्रविधिले जोडेर शासन व्यवस्थालाई पारदर्शी बनाउनसक्ने बताउँदै मुलुकको कूल ग्राह्स्थ उत्पादनमा के कति योगदान गरेको छ रु त्यसको आधारमा देश विकासको समृद्धिमापन गर्नुपर्ने सुझाव दिएका थिए ।

प्राधिकरणका अध्यक्ष दीगम्बर झाले दुरसञ्चार क्षेत्रमा सहभागी सेवा प्रदायकलाई स्वस्थ्य प्रतिस्पर्धा कायम गरेर गुणस्तरीय सेवा ग्रामीण जनातासम्म पु¥याउने संस्थाको नीति रहेको बताए । सोही कार्यक्रममा प्राधिकरणका उत्कृष्ट कर्मचारी अर्जुन घिमिरेलाई रु १५ हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।