गैँडा संरक्षणप्रति चिन्ता र चासो, चरणबद्ध आन्दोलन घोषणा

0 8

रत्ननगर (चितवन),फागुन २० । चितवनका संरक्षणकर्मी तथा पर्यटन व्यवसायसँग सम्बद्ध १८ भन्दा बढी सङ्घसंस्थाले दुर्लभ एकसिङ्गे गैँडा संरक्षणप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले आज सौराहामा एक कार्यक्रम गरी गैँडा स्थानान्तरण गर्दा संरक्षणमा चुनौती थपिने भन्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाको संयोजनमा संरक्षण र पर्यटन क्षेत्रमा सक्रिय १८ सङ्घसंस्थाले संयुक्त कार्यक्रम गरी आन्दोलनको घोषणा गरेका हुन् । यसअघि पनि विभिन्न संस्थाको सहभागितामा चितवनमा धर्ना प्रदर्शन, ज्ञापनपत्र बुझाउने कार्य भइसकेको छ ।
सौराहामा दर्जन बढी सङ्घसंस्थाले कालो ब्यानरमा गैँडाको तस्बिर राखेर स्थानान्तरणको विरोध गर्दै प्रदर्शनसमेत गरेका छन् ।

यसरी स्थानान्तरणको विरोध गर्नेमा रेवान सौराहा, सौराहामा रहेका विभिन्न लायन्स क्लब तथा जेसिज, साना पर्यटन व्यवसायी समूह, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति विभिन्न मध्यवर्ती सामुदायिक वन, वर्ड एजुकेसन सोसाइटी रहेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका द्वितीय उपाध्यक्ष दीपक भट्टराईले चितवनमा संरक्षित दुर्लभ वन्यजन्तुलाई स्थानान्तरण गर्नुभन्दा जुन क्षेत्रमा गैँडा छन् त्यही गैँडालाई संरक्षण गरी सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

चरा विज्ञ तथा संरक्षणकर्मी वासु विंडारीले स्थानान्तरण गर्नु नराम्रो नभए पनि बर्दियाको बबई क्षेत्र गैँडाको बासस्थानको उचित क्षेत्र नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले विगतमा पठाएका गैँडा चोरी सिकारीले अधिकांश मारेको भन्दै यसतर्फ गम्भीर नबनी स्थानान्तरण गर्दा अहिलेका गैँडासमेत मारिनसक्ने सचेत गराउनुभयो ।

लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले गैँडा स्थानान्तरण कुनै पनि अवस्थामा ठीक नहुने तर्क गर्दै यसका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।



चितवन निकुञ्जले मङ्गलबार एउटा गैँडा बर्दिया पठाएको छ भने आज राति अर्काे एउटा गैँडा बर्दिया पठाउँदै छ ।