हामीले नाकाबन्दी नै खेप्नुपर्ने गल्ती के ? दाहाल

0 4

काठमाडौं, फागुन २० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयन, राष्ट्रलाई एकताबद्ध र जनतालाई समृद्धि बनाउने नेतृत्व नेपाली कांग्रेसले चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटनसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति र संविधानको यात्रा एउटा चरणमा पुगेकाले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न सक्ने र अरु राजनीतिक दलसँग सहकार्य गर्नसक्ने नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे ।

अध्यक्ष दाहालले भने–‘कांग्रेस मुलुकको सबैभन्दा ठूलो र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टीको राष्ट्रिय समस्या समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी छ, सो भूमिकालाई आत्मसात् गरोस् र सोहीअनुसारको नीति तथा कार्यक्रम पारित गरोस् ।’ राजनीतिक नेतृत्वमा हिम्मत र जोखिम उठाउन सक्ने क्षमता चाहिने उल्लेख गर्दै उनले शान्तिप्रक्रिया सुरु गर्दा गिरिजाप्रसाद कोइरालाले उठाएको जस्तै हिम्मत सुशील कोइराला र आफूले नगरेको भए संविधान जारी हुन नसक्ने स्पस्ट पारे ।

राष्ट्रिय एकताको मजबुत् आधार बनाउनुपर्ने बताउँदै अध्यक्ष दाहालले अझैपनि मुलुक सहज अवस्थामा प्रवेश नगरिसकेकाले संविधान कार्यान्वयन गरेर भूकम्पपछिको पुनःनिर्माणमा लाग्नुपर्ने बताए । फरक एक प्रसंगमा अध्यक्ष दाहालले भने–‘हामीले नाकाबन्दी नै खेप्नुपर्ने के गल्ती गर्‍यौं रु नेपालको राजनीतिक परिवर्तनमा छिमेकीको सहयोग र सद्भाव जरुरी छ । भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरोसँग सम्मान गरोस् । हामी सबैसँग समान व्यवहार चाहन्छौं ।’

उनले ‘नेपालको समृद्धिका लागि सबै दल मिलेर जानुपर्ने र त्यसका लागि कांग्रेसले पनि फराकिलो छाती बनाउनुपर्छ’– भने । ‘सबै कांग्रेसले गरेको हो, अरु केही होइनन् भनियो भने त्यो पूर्णतः गलत हुनेछ । मलाई त्यसले पीडा दिनेछ’–अध्यक्ष दाहालले भने ।