नेतृत्वका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने

0 7

पौडेल, देउवा र सिटौला प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलको आजै औपचारिक घोषणा हुने भएको छ ।

संस्थापन पक्षबाट सहमतिबाटै प्यानल घोषणा गर्ने भनिए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा छुट्टाछुट्टै प्यानलसहितको उम्मेदवारी घोषणा गर्न लागिएको हो । वरिष्ठनेता देउवा पक्षले भने शुक्रबारसम्म मात्रै प्यानल घोषणा गर्ने तयारी गरेको छ ।

पौडेल नेतृत्वको प्यानलको महामन्त्रीमा वीपी कोइरालाका पुत्र सशांक कोइरालाले उम्मेदवारी दिने तय भएको छ । सिटौला नेतृत्वको प्यानलको महामन्त्रीमा युवा नेता गगन थापा र देउवा नेतृत्वको प्यानलबाट अर्जुननरसिंह केसीले उम्मेदवारी दिने तय भएको छ । देउवा पक्षका उम्मेदवार केसी र सिटौला पक्षका उम्मेदवार थापा ससुरा–ज्वाईं हुन् ।

तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भने भएको छैन । पौडेल नेतृत्वको प्यानलबाट कोषाध्यष्क्षमा पद्मनारायण चौधरी, सीतादेवी यादव र फरमुल्ला मन्सुरमध्ये एक जनालाई उम्मेदवार बनाइने भएको छ ।

त्यसैगरी सिटौला नेतृत्वको प्यानलबाट कोषाध्यक्षमा उमाकान्त चौधरीलाई ल्याउने सम्भावना रहेको छ भने वरिष्ठ नेता देउवाको प्यानलबाट कोषाध्यक्षमा बालकृष्ण खाँड, चित्रलेखा यादव, राधेचन्द्र यादव र पुष्पा भुसालमध्ये एक जनालाई ल्याउने तयारी भइरहेको देउवानिकट स्रोतले बतायो ।