कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम

0 8

उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।

प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय दिइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने २१ गते बेलुका ६ बजेसम्म गरिने भएको छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि ११ बिहान बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ । काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने जनाइएको छ ।

नेतृत्व चयनका लागि मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ ।

मतदानमा विद्युतीय यन्त्र भने प्रयोग नगरिने भएको छ । प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नगरिने भएको जनाइएको छ ।