भारतीय प्रम मोदी तीन देशको भ्रमणमा

0 5

नयाँ दिल्ली,फागुन १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।

उहाँले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी दिइएको समाचारमा जनाइएको छ ।

उहाँ मार्च ३० मा बेल्जियम पुग्नुहुने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुनुहुने छ ।

त्यसपछि उहाँ संयुक्त राज्य अमेरिका जानुहुने छ । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुनुहुने सो समाचारमा जनाइएको छ ।

उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्नुहुने छ । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लाग्नुभएको हो ।