वृद्धावस्थाको रोग : डिमेन्सिया

0 1

वास्तविक स्मरण शक्तिको कमी २० वर्षअघि सुरु भएर ६० वर्षको उमेरमा देखा पर्न थाल्छ ।डा. निदेश सापकोटा, विभागीय प्रमुख, मानसिक विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

बानेश्वरकी ७० वर्षीया सीता शर्मा अहिले कुनै पनि काम गर्न सक्दिनन् । उनको हेरविचार गर्ने सहयोगी चाहिन्छ ।
ज्ञानेश्वरका ७५ वर्षीय रमेश श्रेष्ठ पनि राम्रोसँग हिँडडुल गर्न तथा कुनै पनि कुरा सम्झन सक्दैनन् ।
सीता र रमेश त उदाहरण मात्र हुन् । मानसिक रोग सबै उमेरका मानिसलाई लाग्नसक्छ । बदलिँदो जीवनशैली एवं वातावरणका कारण

अहिले बालकदेखि वृद्धसम्मलाई यो रोगले आक्रमण गरिरहेको छ ।
मानिसको उमेर वृद्धिसँगै रोगले आक्रमण गर्न थाल्छ । यिनै रोगमध्ये मानसिक रोग पनि एक हो । मधुमेह, उच्च रक्तचाप तथा दमका रोगीलाई मानसिक रोग लाग्ने सम्भावना अझ बढी हुन्छ । धेरै मानिसलाई वृद्धावस्थामा पुगेपछि बिर्सने रोग लाग्छ । यसलाई डिमेन्सिया भनिन्छ । सामान्यतया यो रोग ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई लाग्छ ।

डिमेन्सिया/अल्जाइमर
डिमेन्सिया, अल्जाइमर एक किसिमको बिर्सने रोग हो । डिमेन्सिया विभिन्न कारणले हुन्छ । अल्जाइमर रोगका कारणले भए त्यसलाई अल्जाइमर डिमेन्सिया भनिन्छ । अर्को प्रकारमा भास्कुलर डिमेन्सिया पनि हुन्छ । स्नायुप्रणालीमा भएका रगतका स–साना नली टुटेर वा कुनै पनि प्रकारले राम्रोसँग रक्तसंचार हुन नसकेर स्नायुप्रणालीमा राम्रो रक्तसंचार हुन नसक्दा मस्तिष्कले काम गर्न सक्दैन । यसलाई भास्कुलर डिमेन्सिया भनिन्छ । त्यसबाहेक अन्य कारणले पनि डिमेन्सिया हुनसक्छ । कतिपयले अल्जाइमर र डिमेन्सियालाई पर्यायवाचीका रूपमा पनि प्रयोग गरेका छन् । धेरैजसो केसमा अल्जाइमरका कारणले डिमेन्सिया हुन सक्ने भएकाले त्यसो भनिएको हो ।

कुन उमेरकालाई यो रोग लाग्छ ?
सामान्यतया डिमेन्सिया अर्थात् बिर्सने रोग वृद्धावस्थामा लाग्छ । ६० वर्ष कटेपछि मात्र यो रोग देखापर्छ । कतिपय अवस्थामा कम उमेरका व्यक्तिलाई पनि लागेको पाइन्छ । वास्तविक स्मरण शक्तिको कमी २० वर्षअघि सुरु भएर ६० वर्षको उमेरमा देखा पर्न थाल्छ ।

लक्षणहरू
युवावस्थामै तथा वृद्धहरूले पनि सामान्य कुरा बिर्सन्छन् । कहिलेकाहीँ सामान राखेको बिर्सन्छन् । यसलाई डिमेन्सिया भनिँदैन । खासमा डिमेन्सियामा निम्न लक्षण देखापर्छन् :
–स्मरणशक्तिमा क्रमिक रूपमा ह्रास आउँदै जान्छ । यसले गर्दा मानिसको जीवनयापन नै कठिन हुन्छ र अरु मानिसको सहारामा बस्नुपर्ने हुन्छ ।
–आफूले गरिआएको काम तथा आफूले प्रयोगमा ल्याउने सामान प्रयोग गर्न नसक्नु । जस्तै कपडा लगाउन नसक्नु ।
–बोलीमा बिस्तारै परिवर्तन आउँदै जानु । बोल्ने बेलामा शब्द नपाउनु । बोली अड्किनु र रोग धेरै छिप्पिएपछि बोली नै बन्द हुनु । यसलाई अफाजिया भनिन्छ ।
–आफूले चिनिरहेका सामान जस्तै घडी, पेन अथवा प्रयोगमा ल्याएका अन्य सामान चिन्न नसक्नु ।
–योजना बनाउने तथा कुन सही वा कुन गलत हो भन्नेजस्ता मस्तिष्कले गर्न सक्ने काम नगर्नु ।
यो रोग कसलाई हुन्छ ?
अहिले नेपालीको औसत आयुमा वृद्धि भएको छ । सन् २०११ मा कुल जनसंख्याको झन्डै ९ प्रतिशत मानिस ६० वर्षभन्दा माथिका थिए । यही संख्या सन् २००१ को जनगणनामा आधा मात्र थियो । वृद्धवृद्धाहरूको संख्या जति वृद्धि भयो अल्जाइमर रोग लाग्ने सम्भावना उति नै वृद्धि हुन्छ । ६० वर्षमाथिका मानिसमा यो रोग लाग्ने भएकाले आयु वृद्धिसँगै रोगीको संख्या पनि बढेको पाइन्छ । तथ्यांकको कुरा गर्ने हो भने ६५ वर्षदेखि ७५ वर्षबीचका ५ देखि १० प्रतिशतलाई, ७५ वर्षदेखि ८५ वर्ष सम्मकालाई झन्डै २० प्रतिशतलाई तथा ८५ वर्ष माथिका झन्डै ५० प्रतिशतलाई डिमेन्सिया लाग्ने सम्भावना छ ।
विश्व स्वास्थ्य संगठन तथा अल्जाइमर डिजिज इन्टरनेसनलले संयुक्त रूपमा तयार पारेको रिपोर्टअनुसार नेपालमा कम्तीमा पनि ७८ हजार डिमेन्सियाका बिरामी हुनसक्ने सम्भावना छ । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अध्ययनमा मानसिक ओपिडीमा आएका ६० वर्षभन्दा माथिका झन्डै ११ प्रतिशत मानिसमा डिमेन्सिया पाइएको थियो । यद्यपि समाजमा गएर भने यसको अध्ययन भएको छैन । अल्जाइमर इन्टरनेसनलको रिपोर्टअनुसार प्रत्येक ७ सेकेन्डमा १ जना मानिसमा डिमेन्सिया देखा पर्छ ।
अल्जाइमर डिमेन्सिया
वास्तवमा अल्जाइमर एक जर्मन व्यक्तिको नाम हो जसले आजभन्दा झन्डै १ सय ९ वर्षअघि यो बिर्सने रोग एउटा महिला (अगस्टी डी) मा पत्ता लगाएका थिए । त्यसपछि नै यो रोग अल्जाइमर नामले प्रख्यात छ । यो रोग लागेपछि स्नायु प्रणालीको कोशिकामा खराब प्रोटिन जम्मा भएर अन्ततोगत्वा स्नायु प्रणाली ध्वस्त हुन्छ ।

रोकथाम

अन्य रोगको रोकथाम भएजस्तै डिमेन्सियाको पनि रोकथाम हुन्छ । कुनै पनि रोगको उपचारभन्दा पहिले त्यसको पहिचान गर्नुपर्छ । न्यूरोलोजिस्टले (नसा रोग विशेषज्ञ) यसको निदान गर्न सक्छन् । डिमेन्सिया पूर्णत: निको हुँदैन । यद्यपि यो रोगमा प्रयोग गरिने औषधिले जुन गतिबाट स्नायु प्रणाली ध्वस्त हुने हो त्यसको गति कम गर्छ । यसले गर्दा मानिसको आयु लम्बिन्छ भने रोगीले गुणात्मक जीवन बाँच्न सक्ने अवस्था बढाउन सकिन्छ ।

बच्नका लागि
–आफ्नो मुटु स्वस्थ राख्ने । उच्च रक्तचापका बिरामीले चिकित्सकले दिएको औषधि नियमित सेवन गरेर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।
–शरीर स्वस्थ हुने खानेकुरा जस्तै फलफूल, सागसब्जी तथा हाडे बदामको नियमित सेवन गर्नुपर्छ ।
–नियमित रूपमा व्यायाम गर्नुपर्छ । हिँडडुल गर्नुपर्छ । हिँडडुल गर्न नसके हातखुट्टा चलाएर भए पनि सक्रिय बनाउनुपर्छ ।
–सामाजिक कार्यमा पर्याप्त समय दिनुपर्छ ।
–दिमागलाई सक्रिय बनाउने खेलहरू बाघचाल, क्यारेमबोर्ड, चेसजस्ता खेल खेल्नुपर्छ । यसका लागि विदेशमा ब्रेन एप्स पनि प्रयोगमा आएको छ । नेपालमा भने यसको प्रयोग प्रारम्भ भैसकेको छैन ।

You might also like More from author