सशस्त्रका पूर्वआइजीपी बस्नेतसमेत ७ विरुद्ध मुद्दा

0 9

काठमाडौं, फागुन १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपालका पूर्वमहानिरीक्षक (आइजीपी) सनतकुमार बस्नेतसमेत सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । पूर्वआईजीपी बस्नेतविरुद्ध ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँबराबर अनियमितता गरेको भन्दै त्यति नै रकम बिगोदाबी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले २०६६ वैशाखमा सशस्त्रको महानिरीक्षक बनेका बस्नेतले २०६८ साउन महिनासम्म मातहतका सशस्त्र युनिटमा सामान ढुवानी गर्दा भ्रष्टाचार गरेको जनाएको छ । नक्कली बिल बनाएर सामान नै ढुवानी नगरी भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

आयोगका प्रवक्ता सहसचिव कृष्णहरि पुष्करका अनुसार सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापासँग पनि ९ करोड १५ लाख ८१ हजार १ सय ५१, सशस्त्र प्रहरी निरीक्षक मनुहीरा महतसँग ७३ लाख २३ हजार ८ सय ५४, देवेन्द्रकुमार श्रेष्ठसँग ८३ लाख ८३ हजार १ सय ३६, सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठसँग १ करोड ६ लाख ६४ हजार ७ सय ३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीसँग १ करोड ६ लाख २९ हजार ७ सय १२ रुपैयाँ बिगोदाबी गरेको छ ।

मातहतका सशस्त्र युनिटमा सामान पठाउने भन्दै नक्कली ढुवानी बिल बनाएर अनियमितता गरेको अख्तियारले जनाएको छ । केही कार्गाेबाट सामान पठाएको भनिए पनि ती सबै नक्कली बिलमात्र रहेको अनुसन्धानबाट खुलेको छ । सामान ढुवानी गर्न सशस्त्रकै कर्मचारीका नाममा पेश्की रकम निकाल्ने र नक्कली बिल बनाएर फछ्र्याैट गर्दै अनियमितता गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक वासुदेव ओलीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक ओलीले पदमा बहाल रहँदा झुटो बिल भरपाइ बनाई एक करोड १४ लाख ५४ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले ओलीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले ओली महानिरीक्षक हुँदा २०६३ वैशाख २९ देखि २०६५ चैत ३१ सम्म गैरकानुनी काम गरी उक्त रकम भ्रष्टाचार गरेको ठहर गर्दै गत माघ २९ गते मुद्दा दायर गरिसकेको छ ।

आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक कोषराज वन्तविरुद्ध पनि यसअघि नै मुद्दा दर्ता गरिसकेको छ । उनले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वन्तसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

अख्तियारले सामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै सदाज्योति ट्रान्सपोर्टका उज्जलकुमार थपलियाविरुद्ध ३ करोड १६ लाख ३१ हजार ५ सय ७६ रुपैयाँ र अदिती ट्रान्सपोर्टका भरतकुमार थापाविरुद्ध ३ करोड ६३ लाख १० हजार १ सय ३० बिगो दाबी गर्दै मुद्दा दर्ता गरिसकेको छ ।
यस्तै सशस्त्रका पूर्वआइजीपी शैलेन्द्रकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । उनीविरुद्ध अख्तियारले ८० लाख ९३ हजार रुपैयाँ बिगोदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पूर्वआइजीपी श्रेष्ठसँगै अदिती ट्रान्सर्पोटविरुद्ध ५७ लाख बिगोदाबी गर्दै मुद्दा दायर गरेको हो ।