‘झन्डाको अपमान हुँदा ओली मूकदर्शक’

0 7

काठमाडौंः फाल्गुन १६ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा नेपाली राष्ट्रिय झन्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मूकदर्शक बनेको आरोप लगाएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि गुजरातमा फहराइएको नेपालको राष्ट्रिय झन्डा त्रिकोणात्मक हुनुपर्नेमा चारवटा कुना भएको झन्डा राखिएको थियो । आफ्नो राष्ट्रिय झन्डालाई भारतमा विकृत रूपमा प्रदर्शन गरिँदा प्रधानमन्त्री ओली प्रतिक्रियाविहीन हुनुलाई मोर्चाले अपमानको संज्ञा दिँदै विरोध जनायको हो ।
आम नेपालीको गौंरबमय झन्डाको अपमान हुँदा पनि सरकारले आपत्ति प्रकट नगरेको भन्दै मोर्चाले विरोध जनाएको हो।
मोर्चाको बैठकले मधेस आन्दोलनका क्रममा षड्यन्त्रकारीले चिनियाँ झन्डा जलाएको प्रति आपत्ति जनाउँदै सरकारले आन्दोलनकारीलाई पक्राउ गरी थुनामा राख्ने तर अहिले राष्ट्रिय झन्डाको अपमान हुँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएको छ ।

मोर्चाले प्रधानमन्त्रीको भारत भ्रमण असफल रहेको ठहर गर्दै आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा शनिबार बिहान बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको ठहर गरेको हो ।
ओलीको भ्रमणमात्र असफल भएन, उनले गुजरात भ्रमण गर्दा त्यहाँ राखीयको नेपाली झन्डाको अपमान भयो । राष्ट्रिय झन्डाको अपमान हुँदा मुलुकका प्रधानमन्त्रीले किन आपत्ति जनाएनन्’ भन्ने विषयमा बैठकमा गम्भीर छलफल गरीयको थियो ।

मोर्चाले आगामी चैत पहिलो सातादेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । मोर्चाले भाबी आन्दोलन तय गर्न सात सदस्यीय सचिवालय गठन गरेको छ ।

मोर्चाले इन्धनलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र ब्याज तथा कर मिनाहा गर्न सरकारसँग माग गरेको छ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले भने, ‘हाम्रा कार्यकर्ता पक्राउ गर्ने तथा झूट्टा मुद्दा लगाउने कार्य भएका छन् । त्यो तत्काल रोक्नुपर्छ ।’