अध्यक्ष वैद्यले भने– काम भन्दा हल्ला बढी भो

0 9
mohan-baidya

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादी)सँग पार्टी एकताबारे काम भन्दा हल्ला बढी भएको बताएक छन् ।

माओवादीकोे उपत्यका समितिले आज यहाँ आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष वैद्यले एकताका लागि पहिले विचार मिल्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘एक हप्ताभित्र माओवादीको एकता हुँदैछ भन्ने प्रचारबाजी हप्तैपिच्छे सुनिन्छ । पार्टी एकता भन्दैमा भइहाल्ने होइन । ’

उनले एकता कसैलाई प्रधानमन्त्री बनाउनका लागि नभई जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा माओवादीका नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

उनले पार्टी कार्यक्रम, योजना र सिद्धान्तबारे कार्यकर्तालाई सुसूचित गर्न प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।

माओवादीले फागुन १४ देखि २१ गतेसम्मलाई विविध कार्यक्रम गरी सहिद सप्ताहको रुपमा मनाउने परम्परा अनुरुप आजदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ ।