एसिया कप क्रिकेटमा भारतको विजयी सुरुवात

0 10

एजेन्सी,फागुन १३ । बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा भारतले आयोजक बङ्लादेशलाई ४५ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

भारतले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेल्दै सात विकेट गुमाएर एक सय २१ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सब्बिर रहमानले ४४, मुसाफिकर रहिमले नटआउट १६, तस्किन अहमदले नटआउट १५ तथा इमरुल कायसले १४ रन बनाए ।

भारतका आषिश नेहराले तीन तथा जसप्रित बुमराह, हार्दिक पाण्डेय र रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए ।
यसअघि मीरपुरस्थित शेरेबंगला स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

सुस्त सुरुवात गरेपनि रोहित शर्मा र हार्दिक पाण्डेले बिष्फोटक ब्याटिङ गरेपछि भारत उच्चयोगफल तयार पार्न सफल भएको हो । रोहित शर्माले ५५ वलमा ८३ र हार्दिक पाण्डेले १८ वलमा ३१ रन जोडे । अल–अमिम हुसेनले ३ विकेट लिएपनि भारतलाई कम योगफलमा समेट्न भने सकेनन् ।

यसअघि ५० ओभरमा सञ्चालन हुदै आएको प्रतियोगिताको यो संस्करण टि २० ढाँचामा खेलाईएको हो । ५ देशले सहभागिता जनाउने प्रतियोगितामा आयोजक बंगलादेशसंगै भारत, पाकिस्तान, श्रीलंका र युएई छन् । छनोट चरण पार गर्दै युएईले प्रतियोगितामा स्थान बनाएको हो । राउन्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।