लोडसेडिङको विरोधमा यातायात बन्द

0 6

फागुन ,१३ पर्वत–पर्वतमा बिहीबार यातायात बन्द गरिएको छ। जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा चर्को लोडसेड्ङि गरिएको विरोधमा यातायात बन्द को आह्वान गरिएको हो।

लोडसेडिङ बिरुद्ध संघर्ष समिति गठन गरी केही दिनयता पर्वतमा आन्दोलन हुँदै आएको छ। मंगलबार नेपाल विद्युत प्राधिकरण घेराउ गर्दै प्रदर्शन गरेका स्थानीयले बुधबार सदरमुकाम कुश्माबजार बन्द गरेका थिए।

बजार, शैक्षिकसंस्था र अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, दुध, तरकारी बोकेका सवारीसाधन र प्रेसका सवारी भने सञ्चालन गर्न दिइएको संघर्ष समितिका सचिव अच्युत तिवारीले बताए। बिहीबार विहानैदेखि सदरमुकाम कुश्मा, डिमुवा, पातिचौ लगायतका क्षेत्रमा सवारीसाधन चलेका छैनन्। पर्वत बन्द भएका कारण बागलुङ, म्याग्दी, मुस्ताङबाट पर्वत हुँदै बाहिरिने र भित्रिने सवारीसाधनसमेत ठप्प छन्। बन्दलाई यातायात व्यवसायीलेसमेत समर्थन गरेका छन्।

बुधबारसम्म दैनिक दुई पटक नौ घण्टासम्म लोडसेडिङ हुदै आएको पर्वतमा बुधबारबाट दैनिक तीन पटक नौ घण्टासम्मको नयाँ तालिका आएपनि संघर्ष समितिले अस्वीकार गरेको छ। २५ मेगावाट विद्युत उत्पादन हुने आयोजना प्रभावित क्षेत्रमा दैनिक घण्टौं लोडसेडिङ हुनु हामीलाई स्वीकार्य छैनु, संघर्ष समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले भने । उनले बिहीबारको बन्दप्रति वेवास्ता गरेमा थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।