राष्ट्रपति रनिङ शिल्डमा गङ्गालाल तीनपटक

0 10

वालिङ, १३ फागुन । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गङ्गालाल उच्च मावि चापाकोटले हात पारेको छ ।

विगतका दुईवटा प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि चुमेको गङ्गालालले यो पटक पनि उपाधि चुमेसँगै राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो ।

गङ्गालाल उच्च मावि चापाकोटले उत्कृष्ट खेल प्रस्तुत गर्दै कुल २१२ अङ्क प्राप्त ग¥यो भने जनज्योति उच्च मावि चापाकोटले कुल १३६ अङ्क प्राप्त गरी द्वितीय र मातृभूमि उच्च माविले कुल १०८ अङ्क प्राप्त गरी तृतीय स्थान ओगट्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयले क्रमशः नगद रु १५ हजार, रु १२ हजार र रु नौ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा क्षेत्र नं १ मा १८, क्षेत्र नं २ मा २५ र क्षेत्र नं ३ मा २२ विद्यालय सहभागी भएका मध्येबाट क्षेत्रीयस्तरको खेलबाट छनोट भएका १० विद्यालयले जिल्लास्तरीय उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

भलिबल, एथ्लेटिक्स, कबड्डी, सटफुट, ज्याबलिन थ्रो खेलमा क्षेत्रीयस्तरबाट छनोट भएकाबीच प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समिति, स्याङ्जाका सचिव विशाल राजबाहकले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व र जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा सञ्चालन भएको हो ।