पाँचवर्षीय बालकको गीतमा नेता नेपाल मख्ख

0 6

भीमदत्तनगर, १३ फागुन । कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रस्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितापछि बुधबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा जिल्लास्तरीय प्रतियोगिता सुरु भयो ।

आयोजक जिल्ला खेलकुद विकास समितिको आतिथ्य स्वीकार गरी पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आइपुग्नुभएको थियो ।

धर्मपत्नीसहित कार्यक्रमस्थल पुग्नुभएका पूर्व प्रधानमन्त्री नेपालका सामुन्ने यहाँस्थित डायमण्ड एकेडेमीमा युकेजीमा अध्ययनरत पाँचवर्षीय बालक आर्यन बोहराले गीत गाएपछि नेपाल दम्पती चकित मात्रै पर्नुभएन बालकको प्रतिभा देखेर उत्साहित बन्न पुग्नुभयो ।

बोलीसमेत स्पष्ट नखुलेका ती बालक बोहराले ‘मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन’ भन्ने बोलको भावुक गीत निशङ्कोच उपस्थित अतिथिमाझ गाएपछि एकछिन कार्यक्रमस्थलको माहोल नै रसिलो बन्यो ।

बालकले गीत गाइसकेपछि पूर्व प्रधानमन्त्री दम्पतीले फूलमाला लगाएर पाँच वर्षीय बालकको सम्मान गर्नुभयो । नेपाल दम्पतीले बोहरासित तस्बिरसमेत लिनुभयो ।

“बालकको प्रस्तुतिबाट सबै चकित परे,” जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले भन्नुभयो – “कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाउन बीचबीचमा विद्यार्थीका साङ्गीतिक कार्यक्रम राखेका थियौँ ।” कार्यक्रममा सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री नेपालले सुरुमै आर्यन बोहराको प्रतिभाको निकै उत्साहित भएर चर्चा गर्नुभयो । “कस्तो राम्रो गीत गाएको, पूरै कण्ठ गरेको रहेछ,” नेपालले भन्नुभयो–“नआत्तीई, निशङ्कोच गीत प्रस्तुत गरेकोमा बधाइ छ ।”

उहाँले बोहराजस्ता नवप्रतिभाहरुको पहिचान गरी विद्यालयहरुले उनीहरुको प्रतिभालाई उजागर गर्नतर्फ लाग्नुपर्नेमा जोडसमेत दिनुभयो । “मानिसमा जन्मदेखि नै केही विशेषता भएको हुन्छ ।” उहाँले भन्नुभयो – “त्यसलाई अगाडि बढाउनुपर्छ ।” पाँच वर्षीय बोहराका आफन्तले उनले कुनै तालिमबिना घरमै गीत गाउन सिकेको जानकारी दिनुभयो ।