भोजपुरमा सोह्रवटा टेलिकम टावर बन्दै

0 2

भोजपुर, १३ फागुन । नेपाल टेलिकमले भोजपुर जिल्लाको ग्रामीण भेगलाई सूचना र सञ्चारको पहुँचमा ल्याउनका लागि टावर विस्तारलाई तीव्रता दिइरहेको छ ।

नेपाल टेलिकम भोजपुरले जिल्लाका विभिन्न ठाउँमा १३ वटा जिएसएम बिटिएस टावर थप्ने जनाएको छ । १३ वटा नयाँ टावरसँगै पहिले सञ्चालनमा आएका तीन गरी जिल्लाका विभिन्न स्थानमा १६ वटा टावर सञ्चालनमा रहनेछन् ।

टावर विस्तार गरिने स्थानमा, अन्नपूर्ण गाविसको आमलाला डाँडा, भैसीपंखाको अरुणडाँडा, वास्तिम गाविसको झन्डीडाँडा, हसनपुर गाविसको थुम्की, दुम्माना गाविसको राईगाउँ, बासिखोरा गाविसको बाग्चाखा डाँडा, मानेभञ्ज्याङ गाविसको आहालेडाँडामा रहने भएको हो ।

त्यस्तै, पात्लेपानी गाविसको टाकुरेडाँडा, देवान्टार गाविसको बयाङ बजार, सिन्द्राङ गाविसको जोरआहाले डाँडा, याङ्पाङ्ग गाविस, याकु गाविसकोे हरेलुडाँडा र बालङ्खा गाविसको बालङ्खा डाँडालगायतका ठाउँमा बिटिएस टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम भोजपुरका प्रमुख रामकुमार माझीले जानकारी दिनुभयो ।

नयाँ निर्माणमा बासिखोरा गाविसको अनएयर भइसकेको र घोरेटारको पनि संचालनमा आइसकेको प्रमुख माझीले जानकारी दिनुभयो ।

त्यस्तै, अन्नपूर्ण गाविसको आमलालाडाँडामा टावर रहने र ओख्रे गाविसमा यसअघि नै टावर सञ्चालनमा छ । टेलिकमले विटियस टावर विस्तारसँगै भोजपुरलाई लक्षित गरी नेटवर्क सुधारसँगै अप्टिकल फाइवरको काम भइरहेको समेत जानकारी दिएको छ ।

भोजपुर जिल्लाका ग्रामीण भेगमा फोन गर्नका लागि अग्लाअग्ला डाँडातर्फ कुद्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपाल टेलिकमले गर्न लागेको यो कार्य निकै राम्रो भएको सर्वसाधारणको बुझाइ छ । यदि यो कार्य प्रभावकारी ढङ्गले पूर्णरुपमा सञ्चालनमा आएको खण्डमा जिल्लाका जुनसुकै कुनामा पनि सहजरुपमा सञ्चार प्रविधिको पहुँच पुग्न सक्नेछ ।