सम्पर्कविहीन जहाजको खोजी जारी

0 7

 

म्याग्दी, १२ फागुन । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको जहाजको म्याग्दी र मुस्ताङको सीमा क्षेत्रलाई आधार बनाएर खोजी कार्य तीब्र पारिएको छ । बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कविहिन बनेको छ ।

म्याग्दी र दानाको सीमा क्षेत्रमा उक्त जहाज दुर्घटनामा परेको हुनसक्ने आँकलन गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ । त्यस्तै, म्याग्दी र मुस्ताङका सुरक्षा निकाय समेत खोजी कार्यमा जुटेका छन् ।

म्याग्दीको दानाको आकाससम्म बिहान जहाज उडेको आवाज सुनिएको आधारमा त्यसभन्दा माथिको भू–भाग र मुस्ताङको घाँस क्षेत्रलाई आधार बनाएर खोजी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

मुस्ताङको घाँसा र म्याग्दीको दाना गाविसको काभ्रेको बीचमा अग्ला पहाड रहेको कारण त्यस क्षेत्रमा दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ । यो क्षेत्र म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्छ ।

अहिले सम्पर्कविहिन भएको क्षेत्रमा खोजी कार्यको लागि म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कालगायतको सुरक्षा निकायको टोलीसमेत त्यसतर्फ परिचालन भएको छ ।

नागरिक उड्डयन कार्यालय पोखराका अनुसार उक्त ९ एनएएचएच ट्विनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीनजना रहेका छन् ।