मालपोत कार्यालय प्रमुखलाई जरिवाना

0 11

भक्तपुर, ९ फागुन । जिल्ला अदालत भक्तपुरले मागेको फाइल समयमै उपलब्ध नगराएको कसूरमा मालपोत कार्यालय प्रमुखलाई जरिवाना गर्ने आदेश गरेको छ ।

अदालतले माग गरेको फाइल समयमा नै नपठाउने, मागेको भन्दा फरक कागज पठाउने र फाइल पठाउन नसकिने व्यहोरा सहितको पत्र पठाउने गर्दा अदालतको फैसलामा अवरोध भएपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार यस्तो आदेश गरेको हो ।

मालपोत कार्यालयजस्तो जिम्मेवार निकायबाट अदालतको आदेशको पालना गर्नुपर्नेमा उल्टै अत्यन्तै गैरजिम्मेवार जवाफ पठाएको भन्दै कार्यालय प्रमुखको तलबबाट कट्टा हुने गरी पहिलोपटक रु ५० जरिवाना गर्ने निर्णय भएको फैसलामा उल्लेख छ ।

अदालतबाट विभिन्न समयमा माग भएका सक्कल मिसिललगायतका कागजात प्राप्त नभई मुद्दाको कारबाही र किनारा गर्न बाधा परेकाले न्याय प्रशासन ऐन, २०४८ को दफा २९ तर्फ समेत ध्यानाकर्षण गराउँदै मुलुकी ऐन अदालती बन्दोबस्तको महल २१९ बमोजिम जरिवाना गरिएको हो ।