यात्रुसित छ गुणा बढी भाडा असुलियो

0 4

timthumb (3)

काठमाडौँ, ९ फागुन । शालीनदी मेलामा जाने यात्रुसँग साँखु बस व्यवसायी सङ्घका सार्वजनिक सवारीले मनपरी भाडा असुलेको तीर्थयात्रीले गुनासो गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने शालीनदी मेलामा जाने श्रद्धालु तीर्थयात्रीसँग बसका परिचालकले तोकिए भन्दा बढी भाडा लिएका हुन् । यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गतेदेखि लागू गरेको भाडादर अनुसार पुरानो बसपार्कदेखि साँखुसम्म १८ किलोमिटर दूरीको भाडादर रु २३ तोकिएको छ ।

मेलाको मौका छोपेर तोकिए भन्दा छ गुणा बढी भाडा असुलेको यात्रु रश्मि लामिछानेले बताउनुभयो । “भाडा रु २३ तोकिएको रहेछ, हामीसँग रु १२५ भाडा लिइयो” उहाँले भन्नुभयो ।

सङ्घका बसले उपत्यकामा सबैभन्दा बढी भाडा असुलेको गुनासो आउने गरेको विभागका प्रवक्ता एवम् अनुगमन विभाग प्रमुख वसन्त अधिकारी बताउनुहुन्छ । सङ्घका सचिव एलपी श्रेष्ठ मनपरी भाडा उठाउने १० वटा सवारीलाई समितिले नै कारबाही गरेको स्वीकार्नुहुन्छ । “विद्यार्थी सहुलियत नदिने र तोकिए भन्दा बढी भाडा लिने सवारीलाई सङ्घले नै कारबाही गर्ने गरेको छ, अटेर गर्नेलाई ट्राफिक प्रहरीलाई बुझाएर समेमत कारबाही गर्न सहयोग गरेका छौँ”–उहाँले भन्नुभयो ।

रिजर्भमा लेखेर नयाँ बानेश्वरबाट आएको सवारीले रु १०० सम्म बढी भाडा लिएको शनिबार आफैँले भेटेको समेत उहाँले बताउनुभयो । माघ महिनामा शाली नदीमा स्नान गर्नाले पाप पखालिई पुण्य कमाइने विश्वासमा लाखौँ यात्रीले मेला भर्ने गर्छन् । यस मेलामा यहाँ आई माधवनारायणसहित श्रीस्वस्थानीको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने भक्तजनको विश्वास छ ।