भारत भ्रमणबाट राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि – सांसद

0 5

modi-and-kp-oli-sign-agreement-during-india-visit-e1455961846217

(प्रकाश सिलवाल)

नयाँ दिल्ली, ९ फागुन ।  सहभागी विभिन्न दलका संसद्ले भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भई राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि भएको प्रतिक्रिया दिनुभएको छ ।

सांसदहरुले आज रासससँग कुरा गर्दै भारतसँगको मित्रतालाई पुरानै अवस्थामा फर्काएर द्विपक्षीय सम्बन्धमा उचाइ प्रदान गर्ने प्रधानमन्त्री ओलीले भ्रमण गर्नुअघि तय गर्नुभएको लक्ष्यअनुसार नै भारतबाट व्यवहार प्रदर्शित भएको बताउनुभयो । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का नेता तथा सांसद् जितेन्द्रनारायण देवले तराईमा सडक पूर्वाधार निर्माण र विशाखापतन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्त मार्गको सुविधा पाउने लगायतका समझदारी महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

नेता देवले भन्नुभयो, “प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि भएको छ । यो एक प्रकारको गुणात्मक फड्को हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक समस्याबारे सबैसँग संवाद र सहमति गर्न दिनुभएको सन्देशलाई पनि मुख्य दलले गम्भीरताका साथ लिनुपर्छ ।”

नेकपा (एमाले)का सांसद् लालबाबु यादवले प्रधानमन्त्री ओलीको राजकीय भ्रमणबाट आपसी असमझदारी हटेको बताउँदै यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल र भारतबीचको परम्परागत सम्बन्धको निरन्तरतासँगै नयाँ स्थितिमा प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्धमा केही समय अघिदेखि देखिएको गत्यावरोध अन्त्य गराएको विचार व्यक्त गर्नुुभयो ।

नेकपा (माले)का सांसद अइन्द्रसुन्दर नेम्वाङले पनि जारी भ्रमणले तीक्ततापूर्ण सम्बन्धलाई मित्रतामा रुपान्तरण गरेको प्रतिक्रिया दिनुभयो ।

भ्रमण दलमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, डा राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे र सांसद सीमा विक पनि सम्मिलित हुनुहुन्छ । भ्रमणमा करिब एक दर्जन सांसद सहभागी हुने तय भए पनि अन्तिम समयमा केही सांसदले भम्रण रद्द गर्नुभएको हो ।

नेपाली काँग्रेसका नेत्री तथा पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, सोही पार्टीका सहमहामन्त्री पूर्णबहादुर खड्का र सद्भावना पार्टीका सांसद डा डिम्पलकुमारी झाले अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री उत्तरखण्डमा
यसैबीच, भ्रमणका क्रममा प्रधानमन्त्री ओली आज विश्वकै लामोमध्येका एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेहरी जलविद्युत् बाँधको अवलोकनमा जानुभएको छ । प्रधानमन्त्री ओली आजै नयाँ दिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहनुहुनेछ । उहाँले आज यहाँस्थित नेपाली राजदूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तरक्रिया पनि गर्नुहुनेछ ।