सीमसार क्षेत्र अतिक्रमण, पक्षी विस्थापित

0 7

VLUU L100, M100  / Samsung L100, M100
VLUU L100, M100 / Samsung L100, M100

गाईघाट (उदयपुर), ६ फागुन । त्रियुगा नदी किनार आसापासको सीमसार क्षेत्र केही वर्ष यता अतिक्रमण हुँदै आएपछि यहाँ पाइने दुर्लभ चरा तथा पक्षी विस्थापित हुँदै जान थालेका छन् ।

गाईघाटको राजावास क्षेत्र हुँदै पूर्वी तपेश्वरीको भागलपुर क्षेत्रसम्मका त्रियुगा नदीको दुवै किनार क्षेत्रका सीमसार क्षेत्र अतिक्रमणमा परेको छ । यस क्षेत्रमा पाइने दुर्लभ सारस, सेतो बकुल्ला, तथा पानी हास लगायत पक्षी विस्थापित भएका छन् । जमिन अतिक्रमण गरेर खेती गर्ने तथा नदी किनार क्षेत्रमा मनपरी ढुङ्गा, गिट्टी तथा बालुवा झिक्ने गरेपछि सीमसार क्षेत्र सुक्न थालेकोले दुर्लभ पक्षी विस्थापित हुन थालेका हुन् ।

जोगिदह– ७ का ८० वर्षीय भुटाई चौधरी भन्छन्, “पहिला–पहिला यहाँ धेरै भू–भाग सीमसार क्षेत्र थियो, सयौँको सङ्ख्यामा सेतो बकुल्ला र सारस आउँथे, अहिले चरा पक्षी देखिन छाडे ।” सीमसार क्षेत्रका भू–भाग मिचेर खेतीपाती गर्ने गरेको तथा केही भू–भागबाट मनपरी बालुवा झिक्ने गरेको कारण सुख्खा बगर बनेको छ ।

सीमसार क्षेत्र सुख्खा हुनथालेका कारण यहाँ माछाका भुरा तथा भ्यागुता पाइन छाडेका जनता उच्च्मावी जोगिदहका शिक्षक देवेन्द्र कार्की बताउनुहुन्छ । केही वर्ष अघिसम्म सीमसार क्षेत्र हुँदा त्रियुगा नदी किनार क्षेत्रमा सप्तकोसी क्षेत्रबाट सयौँको सङ्ख्यामा चरा पक्षी आएर बस्ने गर्थे । छवर्ष अघिसम्म पनि हिउँदको समयमा साइबेरिया भएर सप्तकोसीसम्म आउने पक्षी, तथा बकुल्लासमेत त्रियुगाको सीमसार क्षेत्रमा आएर आहारा खाने तथा चर्ने गरेको कार्कीको भनाइ छ ।

पहिला÷पहिला पानी हास, सारस तथा सेतो बकुल्ला र हुटिट्याउँ जस्ता चरा पक्षीले भरिभराउ हुने यस क्षेत्रमा हिजोआज चरा पक्षी देख्न नपाएको स्थानीवासी रत्नप्रसाद पोखरेल बताउनुहुन्छ ।