बस दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

0 10

चौतारा, ६ फागुन । सिन्धुपाल्चोकको बराम्चीमा बुधबार बेलुका यात्रु बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बराम्ची गाविस–९ की ४७ वर्षीया माइली तामाङ र सोही गाविस–६ का ५५ वर्षीय दावा स्याङ्बो छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँबाट पाङ्तान गाविसको कात्तिकेतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रु बस ढाँडेनजिकको उकालो चढ्दा पछाडिको साप्ट भाँचिएर ओट लगाउँदालगाउँदै पछि हटेर करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।