उदयपुरमा यस वर्ष सात करोडको तेजपात उत्पादन

0 8

गाईघाट (उदयपुर), ३ फागुन । उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै रु सात करोडको तेजपात उत्पादन भएको छ ।

जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो ।

यस्तै जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि यस वर्ष राम्रो मात्रामा तेजपात उत्पादन भएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल रु सात करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।

उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको तेजपात पछिल्लो चरणमा अझ वृद्धि भएर यसको खेतीको विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले बताउनुभयो ।

जिल्लाको सबैभन्दा बढी तेजपातखेती हुने रौता गाविसको मुकुची क्षेत्र रहेको छ । यस क्षेत्रमा विश्वकै सबैभन्दा उत्कृष्ट जातको सिनामोल अमला नामको तेजपात उत्पादन हुने तेजपात व्यवसायी भरत थापा बताउनुहुन्छ ।

मुर्र्कुची क्षेत्रमा मात्र झन्डै रु दुई करोड ५० लाख बराबरको तेजपात उत्पादन हुने गरेको थापाले बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला नामका दुई जातका तेजपात उत्पादन हुँदै आएका छन् । सिनामोल अमला विश्वको नै उत्कृष्ट तेजपात रहेको वनका कर्मचारीहरू बताउँछन् ।

अहिले जिल्लाको स्थानीय बजारमा तेजपातको बजार मूल्य प्रतिकेजी रु ४० देखि रु ६० सम्म रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।

बहुउपयोगी तेजपात मुख्य त यसको पात र बोक्राबाट औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउका लागि प्रयोग हुने गरेको छ ।

तेजपात उत्पादनमा वृद्धि भए पनि यस वर्ष असोजदेखि तराईका नाका बन्द हुँदा सोचेजस्तो तेजपात बिक्री हुन नसकेको रौता–७ मुर्कचीका एक कृषक होमराज मगरले बताउनुभयो ।

अहिले तराईका नाकाहरू खुल्ने क्रम सहज भएपछि यसको बिक्रीमा सहज हुन थालेको तेजपात उत्पादक कृषक बताउँछन् ।

उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा उत्पादन भएका तेजपात जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ ।

जिल्ला वन कार्यालय उदयपुरले आठवटा विभिन्न नर्सरीबाट झन्डै तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेपछि यसको खेतीमा अझ विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।

यस्तै उत्पादित तेजपातको भण्डारणमा समस्या र ठेकेदार तथा दलालका कारण सही मूल्य पाउन नसक्दा आफूहरू पीडित बन्न परेको मुर्कची–७ का तेजपात उत्पादक कृषक विजय बलाम्पाकी मगर बताउँछन् ।