सतसट्ठी युवा कृषकलाई अनुदान

0 7

चितवन, ३ फागुन । जिल्ला कृषि विकास कार्यालय चितवनले तरकारीखेती गर्ने युवा कृषकलाई यसवर्ष रु ३६ लाख प्रोत्साहनस्वरुप अनुदान दिने भएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत सो रकम दिनका लागि ६८ जना कृषकको छनोट गरिएको छ ।

बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार १९९ जना युवा कृषकले आवेदन दिएकामा ६८ जनालाई छनोट गरिएको हो । उनीहरुमध्ये पहाडका २४ जनालाई प्रतिव्यक्ति रु ४० हजार र तराईका ४४ जनालाई प्रतिव्यक्ति रु ६० हजारका दरले अनुदान दिइने छ ।

विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका आर्थिक रुपमा तरकारीखेती गर्न केही लगानी गर्न सक्ने १८ देखि ५० वर्षसम्मका कृषकलाई यो अनुदान दिइने उहाँले बताउनुभयो । तराईमा कम्तीमा एक मौसममा एक बिगाहा र पहाडमा सात कट्ठा १० धुरमा तरकारीखेती गर्ने व्यावसायिक कृषक अनुदानका लागि छनोटमा पर्ने गर्दछन् ।

यसअघि पहिलो वर्ष ६० जनालाई र दोस्रो वर्ष ४५ जनालाई यो अनुदान रकम वितरण गरिसकिएको छ । छनोटमा परेकाहरुलाई आजबाट तालिम दिइँदै छ । तीन दिनसम्म तालिम दिएपछि उनीहरुलाई दुई किस्ता गरेर अनुदान रकम दिइने थापाले बताउनुभयो ।

यस वर्ष चितवनमा छ हजार ३०० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लामा पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्ने कृषकको सङ्ख्या ४०० भन्दा बढिरहेको छ ।