निजीदेखि सरकारी भवनः नक्सा पास नगराई निर्माण

0 6

kanchanpur

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा निर्माण हुने अधिकांश भौतिक संरचना नक्सा पास नगराइकनै निर्माण हुन थालेका छन् ।

नगरपालिका कार्यालयबाट नक्सा पास गराएरमात्रै भवन निर्माण गर्नुपर्ने भए पनि निजीदेखि सरकारी कार्यालयले भवन नक्सा पास नगराई निर्माण गर्दै आएपछि भूकम्पीय जोखिम बढेको छ ।

भवनसंहिता विपरीत निर्माण गरिएका ती घर उच्च मानवीय जोखिममा रहेको नगरपालिका कार्यालयका इन्जिनियर हिमालयसिंह ऐरले बताए ।

नयाँ निर्माण भएका नेपाल टेलिकम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयबाहेक अन्य सरकारी कार्यालयले नयाँ भवन निर्माण गरे पनि नक्सा पास नगराएको उनले बताए ।

“महेन्द्रनगर बजार क्षेत्रमा निर्माण भइरहेका पार्टी प्यालेस, व्यापारिक भवन, पसल र आवाशीय भवनको नक्सा पास गराउन नगरपालिका कार्यालयले आग्रह गर्दै आए पनि नक्सा पास गराउन आएका छैनन्” – उनले भने ।

नक्सा पास नगराई निर्माण हुने भौतिक संरचना नगरपालिका कार्यालयले भत्काउन सक्ने कानुनी प्रावधानसमेत रहेको छ ।

आव ०७०÷७१ बाट भवनसंहिता लागू गरेपछि भीमदत्तनगर नगरपालिका क्षेत्रका २०० जति नयाँ निर्माण भएका घरको मात्रै नक्सा पासको कार्य गरिएको छ ।

सामान्य घरको तुलनामा नक्सा पास गराई भूकम्प प्रतिरोधी घर निर्माण गर्दा १० देखि १५ प्रतिशतसम्म बढी लागत पर्ने भएकाले स्थानीय बसिन्दाले लागत कम गर्नका लागि नक्सा विपरीत आफूखुसी घर निर्माण गर्दै आएको नगरपालिका कार्यालयका कर्मचारीको भनाइ रहेको छ ।

नयाँ निर्माण भइरहेका भवनको नक्सा पास गराए नगराएको बारे कडाइका साथ अनुगमन कार्य नगरपालिकाले अगाडि बढाउने बताइएको छ ।