बजेट तथा कार्यक्रम सार्वजनिक

0 6

धनगढी, १ फागनु । कैलाली जिल्लाको लम्की–चुहा नगरपालिकाको नगर परिषद् बैठकले पारित गरेको आगामी वर्षको नीति कार्यक्रम तथा अनुमानित बजेट शुक्रबार सार्वजनिक गरिएको छ ।

गएको पुस महिनामा भएको नगर परिषद् बैठकले आर्थिक वर्ष २०७३÷०७४का लागि रु नौ करोड ८७ लाख १६ हजार २७४ को अनुमानित बजेट पारित गरेको थियो ।

सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ रु चार करोड ६८ लाख ३८ हजार ७५७ र पुँजीगत खर्चतर्फ रु पाँच करोड १८ लाख ७७ हजार ५१७ रहेको नगरपालिका कार्यालयका सूचना अधिकृत सुरज श्रेष्ठले बताउनुभयो ।

सो बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड २३ लाख ६२ हजार ८७४ र बाह्य स्रोतबाट रु आठ करोड ६३ लाख ५३ हजार ४०० अनुमान गरिएको छ ।

परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७३÷०७४ मा नगर क्षेत्रलाई खुला दिसामुक्त र प्लास्टिक मुक्त नगर घोषणा गर्ने, नगरको गुरुयोजना निर्माण, पशुबधशाला र भौतिक संरचना निर्माणमा प्राथमिकता दिएको छ ।

यस्तै नगरपालिका कार्यालयको सङ्गठनात्मक संरचना, जनशक्ति व्यवस्थापन, कार्यालय भवन निर्माण, यातायातका साधन खरिदलगायतका योजनालाई प्राथमिकता दिएको छ ।

बैठक भएको एक महिनाभित्र परिषद्ले पारित गरेका निर्णय सार्वजनिक गर्नुपर्ने नीतिबमोजम शुक्रबार आयोजित सर्वपक्षीय÷ सर्वदलीय कार्यक्रममा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा कार्यालयका कार्यालय सहयोगी ध्रुबबहादुर धामी र खुशीराम थारुलाई कार्य क्षमताको मूल्याङ्कन गरी सम्मानित गरियो । यस्तै बन्द अवस्थामा रहेको भए पनि एक आर्थिक वर्षमा बढी कर बुझाउने बासुलिङ्ग सुगरमिल (कैलाली)का सञ्चालकलाई सम्मानित गरिएको थियो ।

नगरपालिका कार्यालयका कार्यकारी अधिकृत धर्मराज बिनाडीको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रमा टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीप्रसाद आचार्यलगायतले कार्यक्रमका बारेमा चर्चा गर्नुभएको भएको थियो ।

विसं २०७१ जेठमा साविकका बलिया र चुहा गाविसलाई समेटेर सरकारले कैलालीको पूर्वी सीमा क्षेत्रको यो लम्की–चुहा नगरपालिका स्थापना गरेको थियो । पन्ध्र वटा वडा रहेको यो नगर क्षेत्रमा झन्डै १२ हजार ५०० घरधुरीका ८० हजार जनसङ्ख्या रहेको छ ।