सारङ्गी बजाएर महिनामा रु पच्चीस हजार कमाइ

0 8

timthumb (2)बागलुङ, २८ माघ । कलिलो उमेरमा जोगेको राजेश गन्धर्वको सारङ्गी मोह र अनुभव भने पाको छ । १३ वर्षको उमेरदेखि नै सारङ्गी बजाउन थालेका गन्धर्व अहिले १९ वर्षका भए । 
पुख्र्यौली कला भएर होला, राजेशलाई सारङ्गी सिक्न कठिन थिएन । “हाम्रो बाउबाजेको पेसा नै सारङ्गीवादन हो, घरमै सिकेको हुँ ” उहाँले भन्नुभयो । “अहिलेको युवापुस्ता यसबाट टाढिँदै गएको छ, हाम्रो पुख्र्यौली कला–पेसाको संरक्षण होस् भनेर लागेको छु ।” उहाँले अगाडि थप्नुभयो ।

पुरानो घर गुल्मीको मुसीकोट भए पनि राजेश भने बागलुङमै जन्मेका हुन् । उनका बुबाआमा वर्षौंअघिदेखि बागलुङमा अस्थायी रुपमा बस्दै आएका छन् । बुबा रिमबहादुर गन्धर्व पनि सारङ्गी बजाउँदै गाउँसहर डुल्छन् ।
आमा पूर्णकला गन्धर्व भने मजदुरी गरेर जीविका चलाउँछिन् । पढ्ने धोको भएर पनि प्रवेशिका परीक्षामा असफल भएपछि उनले पढाइ अघि बढाउन सकेका छैनन् ।

“अझै पनि पढ्ने इच्छा छ, घरमा बुबाआमाले पढ्न जोड दिइरहनुभएको छ”, उहाँले भन्नुभयो । “हेरौँ कस्तो हुन्छ, सारङ्गी बजाउनतिर लागेपछि सबै कुरा भुलेको छु ।” उहाँले अगाडी भन्नुभयो ।
उनी जनजीवनका दुःख–सुख, पीर–व्यथा सारङ्गीमा रेट्दै गाउँसहर डुलिरहन्छन् । बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी, कास्की लगायतका जिल्लामा पुगेर गाउँ–गाउँ डुलेको उनी सम्झना गर्छन् ।
“गाउँघरतिर सारङ्गी लिएर गाउन जाँदा चाख मान्ने गर्छन्, सारङ्गीवादक गाउँमा जान छोडेर पनि होला” उहाँले भन्नुभयो । हामीप्रति ठूलो सम्मान पनि हुने गरेको छ, कतै काम गर्न नसकेर बजाउँदै हिँडेको भनेर कलाको अपहेलना गर्नेहरु पनि भेटिन्छन् , राजेशले वताउनुभयो

राजेशले सारङ्गीको धुनमा पछिल्लो यामका गीत समेटेर प्रस्तुत गर्ने गरेका छन् । पुराना लोकलयलाई उनी पोख्त रुपमा गाउन सक्छन् । विभिन्न घटना र वियोगलाई ‘कर्खा’का रुपमा उनले सुनाउने गरेका छन् ।
“दर्शक स्रोताको रोजाइमा पनि गाउने गर्छु, बढीजसो सारङ्गीमा पुराना लोगगीत सुहाउने हुँदा त्यही नै बढी गाउने गरेको छु” राजेशले भन्नुभयो । सारङ्गी बजाएर नै राजेशले राम्रो आर्थिक आर्जन पनि गर्ने गरेका छन् । महिनामा २०÷२५ हजार कमाई हुने उनको भनाइ छ ।

“दिनभरि हिँड्दा कम्तीमा पनि एक हजार उठ्छ, राम्रो हुँदा त दुई÷तीन हजार पनि सङ्कलन हुने गरेको छ”, राजेशले भन्नुभयो ।
“कमाएको पैसा घरमा लगेर बुबाआमालाई दिने गरेको छु, सहकारीमा मेरो छुट्टै बचत पनि छ ।” परिवारमा ज्येष्ठ छोरा भएकाले पनि कमाई गर्नुपर्ने अवस्था आएको राजेश बताउँछन् ।
उनका भाइबहिनी भने सानै छन् । राजेश र उनका बुबा रिमबहादुरले नेपालको मौलिक बाजा सारङ्गीवादन र गायनलाई नै मुख्य पेसा बनाएका छन् । रिमबहादुरले सारङ्गी बनाउने सीप पनि जानेका छन् । राजेशले बुबाले बनाएको सारङ्गी बजाउँदै हिँड्छन् । दुबैको कमाइले परिवारको घरव्यवहार पनि सन्तोषले चलेको छ ।

“मेरो कुनै ठूलो योजना छैन, यही पेसालाई अघि बढाउने सोँचमा छु”, राजेशले भन्नुभयो । सारङ्गीको संरक्षण र प्रवद्र्धनमा नयाँ पुस्ता अग्रसर हुनुपर्छ, नभए हाम्रो मौलिक कला, संस्कृति लोप हुनसक्छ राजेशको सुझाव रहेको छ ।