कोइराला देशभक्त राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

0 5

Sushil-Koirala-Happy2-257x400

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांँग्रेसका सभापति सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा आज दिनुभएको समवेदना सन्देशमा प्रधानमन्त्रीले निरङ्कुशताविरुद्ध लोकतन्त्रको स्थापनाका लागि उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको तथा संविधानसभामा काँग्रेसको सभापति र संसदीय दलका नेता एवम् प्रधानमन्त्रीको हैसियतमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ–“लोकतन्त्रप्रतिको उहाँको निष्ठा र क्रियाशीलता, सादा जीवनयापन गर्ने उहाँको शैली र जुनसुकै समस्याको पनि आपसी मेलमिलाप, सहकार्य र एकताबाट समाधान खोज्नुपर्छ भन्ने उहाँको विचारको हामी सबैले सम्मान गर्न सक्नुपर्छ ।”

उहाँको निधनबाट देशलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोक सन्देशमा प्रधानमन्त्रीले शोकको घडीमा राष्ट्रिय एकता र समृद्धिको बाटामा संयम र धैर्यका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ । नेता कोइरालाको निधनबाट आफू स्तब्ध र दुःखी भएको बताउँदै उहाँले स्व कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त आफन्त र काँग्रेस पार्टीप्रति समवेदना प्रकट गर्नुभएको छ ।