कोइरालाःनिष्ठा र आदर्शका राजनीतिज्ञका रुपमा सम्झना

0 7

susil1-300x210

पोखरा, २६ माघ । नेपाली काँग्रेस कास्कीका नेता तथा कार्यकर्ताले काँग्रेसका सभापति सुशील कोइरालालाई निष्ठा र आदर्शका अनुकरणीय राजनीतिज्ञका रुपमा सम्झना गरेका छन् ।

कोइरालाको निधनसँगै शोकाकूल कास्की काँग्रेसका कार्यकर्ता बिहानैदेखि चिप्लेढुङ्गास्थित पार्टीको जिल्ला कार्यालयका भेला भएका छन् भने उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काठमाडौँ जाने तयारी पनि गरिरहेका छन् । नेपालको राजनीतिमा एउटा निष्ठा र आदर्श बोकेका राजनीतिज्ञका रुपमा स्थापित कोइरालाबाट वर्तमानमा क्रियाशील प्रत्येक राजनीतिज्ञले धेरै सिक्नुपर्ने कास्की काँग्रेसका नवनिर्वाचित सभापति कृष्णबहादुर केसी बताउनुहुन्छ । “राजनीति गरेर आफूले केही पाउँछु भन्दा पनि राष्ट्र र समाजका लागि के दिन सकिन्छ भन्ने आजीवन सोच राख्ने कोइराला नेपाली राजनीतिकै अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो, “शक्तिमा हुँदा पनि कहिल्यै लोभलालच र प्रलोभनमा नफसी देश र नेपाली जनताको हितका लागि उहाँले गर्नुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।”

नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइराला, सुवर्णशम्शेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता राजनेताको प्रत्यक्ष सङ्गत गर्नुभएका कोइरालाले नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि गरेको अनवरत सङ्घर्ष चिरकालपर्यन्त जीवन्त रहने काँग्रेस कास्कीकी नेत्री एवम् सांसद शारदा पौडेल बताउनुहुन्छ ।

नेपाली जनतालाई नयाँ लोकतान्त्रिक संविधान प्रदान गर्नुभएका कोइरालाको संविधानको सफल कार्यान्वयन होस् भन्ने चाहनालाई काँग्रेससहित नेपालका राजनीतिक दलले आत्मसात् गर्नुपर्ने कास्की काँग्रेसका नवनिर्वाचित सचिव सुदीपमोहन भट्टराई बताउनुहुन्छ । राजनीति आफ्ना लागिभन्दा पनि राष्ट्रका लागि हो भन्ने कोइरालाको आदर्शलाई प्रत्येक राजनीतिक दलका नेताले भुल्न नहुनेमा उहाँको जोड छ । पैसाको आडमा तडकभडक र राजनीतिमा प्रभाव पार्न खोज्ने जो कोहीले पनि कोइरालाको सादगी जीवनबाट धेरै सिक्नुपर्ने चर्चा यतिखेर काँग्रेससहित विभिन्न राजनीतिक वृत्तमा चलेको छ ।
पत्रकार महासङ्घबाट श्रद्धाञ्जलि

कांँग्रेसका सभापति कोइरालाको गए राति असामयिक निधन भएकामा नेपाल पत्रकार महासङ्घ कास्कीले आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरी स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, वरिष्ठ पत्रकार एवम् अन्य पत्रकारले कोइरालाको सम्मानमा एक मिनेट मौनधारण गर्नाका साथै तस्बिरमा पूmलगुच्छा चढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जलि सभामा महासङ्घका अध्यक्ष डा विष्टले कोइराला नेपालको राजनीतिमा एक आस्थाका प्रतीक र प्रजातान्त्रिक आन्दोलनका योद्धा हुनुहुन्थ्यो भन्नुभयो । “उहाँको प्रधानमन्त्रीत्व कालमा देशले नयाँ संविधान पाउनु र सुशासनको थालनी हुनु ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो ।

उहाँले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो । महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा श्रद्धाञ्जलि सभा भएको थियो । महासङ्घ कास्कीले आज महासङ्घको वार्षिक साधारणसभा गर्ने निर्णय गरी कार्यक्रम गर्न लागेकामा नेता कोइरालाको निधन भएपछि साधारणसभा स्थगन गरी श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो ।