माइक्रोबस दुर्घटना नौको सनाखत

0 12

त्रिशूली (नुवाकोट), २४ माघ । पासाङल्हामु राजमार्ग अन्र्तगत त्रिशूली–काठमाडौँ सडक खण्डको मदानपुरमा दुर्घटना हुँदा ज्यान गुमाउने नौ जनाको सनाखत भएको छ ।

शनिबार अपराह्न काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नं को माइक्रोबस मदानपुर–८ केउरिनीको भिरबाट २०० मि तल खसेको थियो । दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा नेपाली सैनिकतर्फ सात जना रहेको सैन्य तालिम केन्द्र त्रिशूलीले पुष्टि गरेको छ । दुर्घटनामा चालक र तीन सर्वसाधारणको समेत ज्यान गएको छ ।

सैन्य तालिम केन्द्र त्रिशूलीमा तालिमरत ओखलढुङ्गा सिंहदेवी–८ की रमिता बुथाथोकी, ओलखढुङ्गा रानीवनकी सन्तोषी बोगटी, रामेछाप मन्थलीकी लक्ष्मी श्रेष्ठ र ओखलढुङ्गा बिलदबुकी मञ्जु मिश्र रहेका छन् । त्यस्तै मुना खत्री, ईश्वर कार्की र केदार अधिकारीको पनि मृत्यु भएको तालिम केन्द्र त्रिशूलीका प्रमुख केन्द्रपति रामकृष्ण थापाले जानकारी दिनुभयो । सेनाले सबैको पूरा ठेगाना र उमेर भने सार्वजनिक गरेको छैन ।

यस्तै माइक्रोबस चालक नुवाकोट बेलकोट–२ का २२ वर्षीय दामोदर कँडेल र यात्रु देउराली–८ का ५५ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसमा १८ सैनिक, तीन सर्वसाधारण तथा चालक र सहचालक गरी २३ जना सवार थिए । दुर्घटनामा परी घाइते १० सैनिक र सहचालकको राजधानीको ट्रमा सेन्टर र सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

केही सञ्चारमाध्यमले मृतक भनी नाम सार्वजनिक गरेको सैनिक यशोदा कार्कीको उपचार भइरहेको सेनाले जनाएको छ । यस्तै अमृता कार्की, दिलकुमारी खड्का, रुपा घोरासैनी, दीपा दाहाल, धनमाया घर्ती, झलक सुवेदी, शुभराज खत्री, सञ्जीव ग्वाछा, गोविन्द खनाल, सन्देश बराम र सहचालक समीर थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।