जनकपुर क्षेत्रका पर्यटकीय सम्पदा विश्व सम्पदा सूचीको प्रतीक्षामा

0 10

(हिमांशु चौधरी)

जनकपुरधाम, २२ माघ । विश्व सम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ ।

यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्तरुपमा विद्यमान रहेकाले सांस्कृतिक विश्व सम्पदामा सूचीकृत गराउन प्रक्रियागत रुपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।

राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्य जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको छ ।

पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् सोमध्ये नेपालका चारवटा रहेका छन् । पुरातत्वविद् भीमप्रसाद नेपाल मैथिल सभ्यताको अतुलनीय विशिष्ट प्रमाण बोकेको र मानव इतिहासमा महत्वपूर्ण अवस्था दर्शाउने सम्पदा जनकपुर क्षेत्रमा विद्यमान रहेको बताउनुहुन्छ । यस क्षेत्रको विकासलाई यहाँका सांस्कृतिक स्रोतले सम्भव बनाएको हो भनी बुझ्नु जरुरी छ भन्दै उहाँले भन्नुभयो–“यहाँका सम्पदा लुम्बिनी र पशुपतिनाथ झैँ अद्वितीय रहेको छ ।”

वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यमा जनकपुरको अस्तित्व अनादिकालदेखि नै रहेको उल्लेख छ । त्रेतायुगमा उत्कर्षमा रहेको मिथिला द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्राँै शताब्दीपछि पुनः प्रकट भएको भनिन्छ । जनकपुर क्षेत्रका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्ति, गढगढीहरु इतिहासका अनेक उत्थान पतनका तथ्य अहिले पनि गर्भमै रहेको छ ।

पुरा कथा, सनातन मूल्य, सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरको कथा, बज्जि सङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय, सेन र पालकालीन अवस्था ती मठ, मन्दिर, मूर्ति र गढ–गढीको गर्भमा लुकेको बताइन्छ ।

यहाँ पाषाणका मूर्तिमा केही पालकालीनका छन् भने केही मध्यकालीन समयका छन् । केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । पुरातात्विक अंश भएका केही मन्दिरहरु राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर र रत्नसागर उल्लेखनीय रहेको छ । जनकपुरका ऋषि–मुनि दूरदर्शी थिए, उनीहरुले इतिहास लेख्नका लागि यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्तरुप दिए जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन, त्यो क्यानभास थियो–पत्थर । हरेक युगमा यहाँ पत्थरका मूर्ति उत्कृष्ट हुँदै आएको छ ।

यस क्षेत्रमा पाइने मूर्त र अमूर्त पुरातात्विक सम्पदा सामान्यतः मौर्य, शुँग, कुषाण, गुप्त, पाल, सेन राज्यवंश र पछि मकवानपुरका सेन राजाको समयलाई बोध गराइरहेको छ भने विभिन्न गढीले मानव सभ्यताको विकास क्रमलाई गरी रहेको छ । जनकपुर क्षेत्रका मठ–मन्दिर शिखर शैलीका छन् भने केही गुम्बाकार वास्तु शैली, पैगोडा शैली र मैथिल वास्तु शैलीका छन् । जानकी मन्दिर मैथिल, राजपूत र इस्लामी वास्तु शैली, राममन्दिर र विवाह मण्डप नेपाली वास्तु शैली र जनक, लक्ष्मण मन्दिर गुम्बाकार वास्तु शैलीमा तथा कुपेश्वरनाथको मन्दिर मैथिल वास्तु शैलीमा बनेको पाइन्छ ।

पुरातत्वविद् नेपाल यस क्षेत्रका धरोहरहरु वर्तमान पुस्ताका लागि जति आवश्यक छन्, भावी पुस्ताका लागि त्यतिकै आवश्यक भएकाले यस क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्नेमा जोड दिनुहुन्छ । प्राध्यापक डा. भोगेन्द्र झा विश्व सम्पदामा समावेशले गौरव, सम्मान र पर्यटकीय गतिविधिमा वृद्धि र आर्थिक लाभजस्ता पक्ष गाँसिएकाले यस कार्यलाई इमान्दारीतापूर्वक अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

अर्का प्राध्यापक डा सोनफी यादव राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टाँसिएर रहेको शिशुनारीको मूर्ति पाल कालको भएको र सो मूर्ति सम्भवतः यस नगरको प्राचीनतम् हुन् भन्नुहुन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले यस क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रमा राख्दै विश्व सम्पदामा समावेशका जटिलताको प्रयासको खाँचो औँल्याउनु हुन्छ । यस क्षेत्रमा अहिलेसम्म पुरातात्विक उत्खननको प्रयास खासै नभएको अवस्थामा मूर्ति र एक्कासि माटो खन्दा प्राप्त सामग्रीले पनि दुर्लभ जानकारी दिइरहेकाले विश्व सम्पदामा सूचीकृत गराउनमा सहायकसिद्ध हुने विश्वास गरिएको छ ।

बावन कुटी बृहत्तर पोखरीको नगर नामले प्रसिद्ध यस क्षेत्रलाई आदर गरी एक उत्कृष्ट नमुनाको प्रतिनिधित्वका रुपमा विश्वको मान चित्रमा स्थापित गराउनुपर्ने प्राध्यापक महेन्द्रनारायण मिश्र बताउनुहुन्छ ।