नेशनल ट्रेडिङबाटः तेल पत्रकारका अनौठा कुरा

0 7

patrakar_line

सन्तोषराज , विगत केही हप्तादेखि मजस्ता करीब ७ सय पत्रकारको हरेक शुक्रबार टेकुस्थित नेशनल ट्रेडिङको पेट्रोलपम्प कुर्दैमा बित्छ ।

अघोषित भारतीय नाकाबन्दीपछिको इन्धन संकटमा पत्रकार महासंघको पहल र चौथो अङ्गप्रतिको सरकारी संवेदनशीलता भनौं, विगत ६ सातायता पत्रकार ९सूचना विभागको पत्रकार कार्ड भएकालाई नेशनल ट्रेडिङबाट हरेक साता शुक्रबार तोकिएको दरमा निश्चित मात्रामा पेट्रोल वितरण गरिँदै आएको छ ।

रातको ३–४ बजेदेखि नै आफ्नो मोटरबाइक, स्कुटर र मोटर लगेर पेट्रोलको लाइनमा राख्नु, नम्बर लेख्नु, कुपन लिनु र लाइनमा बसेर बाइक धकेल्दै पम्पमा पुग्नु सबैजसको नियति हो । पम्पमा पुगेर ५ लिटर पेट्रोल पाएपछि (मोटरलाई करीब १५ लिटर) संसारै जिते जसरी गर्वले छाती फुलाउँदै घर फर्किनु धेरैजसो पत्रकारको शुक्रबारे नियति हो ।

तर, पत्रकार सुविधाका नाममा वितरण हुने पेट्रोल हाल्न नेशनल ट्रेडिङको लाइनमा पत्रकार मात्रै आउँदैनन् । सूचना विभागको कार्ड बोकेर आउनेहरु मध्ये पनि धेरैजसो वास्तविक पत्रकार हुँदैनन् भने पत्रकारको नाममा धेरै तेल भने गैरपत्रकारलाई बाँडेर नेशनल टे्रडिङका कर्मचारी, प्रहरी, पत्रकारका नेता र केही अजासु (अति जान्नेसुन्ने) हरुले पत्रकार सुविधाको तेलमाथि रजाइँ गर्छन्न् ।

शुक्रबारकै कुरा गर्ने हो भने राति ३ बजेदेखि लाइन बसेका पत्रकारहरुको लाइनलाई १०ः३० देखि पेट्रोल वितरण गरे पनि बीचमा लाइन बाइपास गरेर छिराइएका चारपाङ्रे मोटर र मोटरसाइकलका कारण लाइनमा बसेका पत्रकारले राति ७ बजेसम्म विष्णुमतीको दुर्गन्ध र चिसो खानुर्पयो । लाइनमा कुपन बाँडिएका २०० वटा बाइक र स्कुटरले ५ बजेसम्म तेल नपाउँदा नेशनल ट्रेडिङका कर्मचारी, प्रहरीले भने ६ सय पत्रकारको बाइकमा तेल हालिसकेको तथ्यांक बोकेर बसेका थिए ।

विगत ६ साता यताको शुक्रबारे अनुभवले नेशनल ट्रेडिङमा पाइने सुविधाको तेल हाल्न आउने पत्रकार देखेर पत्रकार यति धेरैथरिका हुँदा रहेछन भन्ने नयाँ पत्रकारिताको ज्ञान आर्जन गर्ने सु(अवसर पनि प्राप्त गरिएको छ ।

६ साता यताको प्रत्यक्ष भोगाइ, देखाइ, सुनाइ र बोलाइले नेशनल ट्रेडिङमा कस्ता९कस्ता पत्रकार तेल हाल्न आउँछन् भनेर प्रष्ट पार्ने प्रयास गरिएको छ ।

इमान्दार वास्तविक पत्रकार: वास्तविकरुपमै पत्रकारितामा समर्पित, पत्रकार महासंघ र सरकारबीच भएको पत्रकारलाई तेल सुविधा उपलब्ध गराउने सम्झौता अनुसार सम्पूर्ण योग्यता भएका र नियमानुसार लाइनमा बसेर उपलब्ध इन्धन लिने । अनि पत्रकारलाई भन्दा गैरपत्रकारलाई पत्रकार सुविधाको नाममा धाँधली गरेर तेल बाँडिएकोमा लाइनमा बसेरै गुनासो गर्ने र देशै यस्तो हो भन्दै चित्त बुझाउने ।

बेइमान वास्तविक पत्रकारः तेल सुविधा पाउन सबै हिसाबले योग्य, नियमित पत्रकारिता पनि गर्ने तर, आफ्नो कार्डको दुरुपयोग गरेर बढी तेल हाल्ने, आफुले तेल हालेपछि साथीसमेत बोलाएर आफ्नो कार्ड उसलाई दिएर तेल हाल्न लगाउने, लाइन बिगार्ने र सकेसम्म आफ्नो स्वार्थपूर्ति गर्ने पत्रकार ।

चोर पत्रकार : सूचना विभागको कार्ड भएका, वर्षमा एक–दुई अंक पत्रिका पनि छाप्ने, आफ्नो सवारी साधन नभएका तर, अर्को साथी वा कसैको सवारी ल्याउने, अलि बढी नै चुरीफुरी गर्ने, पत्रकार सुविधाको तेल थापिदिने र सम्बन्धितबाट खाजा, खानाको व्यवस्था गर्ने, सम्बन्धित सवारीधनीबाट हजार–पाँचसय लिएर खल्तीमा हाल्ने ।

यस्ता पत्रकारले कार पनि लिएर आएको देखिन्छ, जससँग बस चढ्न भने भाडा अर्कैसँग सापटी माग्नुपर्ने सबैमाझ जगजाहेर छ ।

घोर पत्रकार : वास्तविक पत्रकार । तर, ५–१० लिटर पेट्रोलका लागि आफ्नो पत्रकारिताको योगदानबारे हल्का भाषण दिने, सकेसम्म लाइनमा नबस्ने, पत्रकारको नेतालाई चाकडी गरेर बाइक सिधै पम्पमा छिराउने । म ठूलो मिडियाको भनेर पुलिस र कर्मचारीलाई हल्का धम्की पनि दिने । यीमध्येका एक दुईले फुलटयाङ्की तेल हालेर बाहिर तेल बेचेको पनि सुनिएको छ ।

तेल बेच्ने पत्रकार : कार्ड भएका । तर, पत्रकारिता नगर्ने । विशुद्ध तेल बेच्ने काम गर्छन् । अनेक तिकडम लगाएर फुल ट्याङ्की तेल हाल्ने र बाहिर लगेर प्रतिलिटर ३ सयसम्म तेल बेच्ने ।

सहयोगी पत्रकार : ए सहयोगी पत्रकार पनि रैछ नि भन्नुहोला नि फेरि । यी चाहिँ वास्तविक पत्रकार नै हुन् । तर, पत्रकार सुविधाको नाममा तेल थापेर सालीदेखि काली ९प्रेमिका० सम्मलाई तेल सहयोग गर्ने मुख्य ध्याउन्नमा यी आएका हुन्छन् । के गर्नु तेल नदिए साली रिसाउँछे, काली रिसाउँछे, यस्तोबेलामा सहयोग त गर्नै र्पयो नि भन्ने यिनको धारणा रहेको पाइन्छ ।

अलपत्रकार : सूचना विभागको कार्ड भएका, पत्रकार महासंघको सदस्यतासमेत लिएका । तर, पत्रकारितासँग दुर९दुरसम्म कुनै साइनो नभएका व्यापारी, भातृसंगठनका कार्यकर्ता, प्रहरी, कलाकार र अन्य विभिन्न व्यवसायमा संलग्नहरु ।

अन्य पत्रकार : पत्रकारितासँग कुनै साइनो नभएका, कार्ड पनि नभएका । तर, प्रहरीको मान्छे, स्थानीय, कर्मचरीको मान्छे, नेताको मान्छे, यताको मान्छे, त्यताको माान्छे, टोलको डन लगायतको नेशनल ट्रेडिङमा हरेक शुक्रबार ठूलै जमघट हुन्छ ।

यस्ताले वास्तविक पत्रकारलेभन्दा पत्रकार सुविधाको तेल छिटो, धेरै र सहजताले तेल पाउँछन । यसबाहेक पनि नेशनल ट्रेडिङमा हरेक शुक्रवार धेरैथरिका पत्रकार भेटिन्छन् ।

कर्मचारीलाई र पत्रकारका नेतालाई चिनेका भरमा फुलटयाङ्की तेल हालेको गफ लगाउनेदेखि, साथीको कार्डमा तेल हालेको फूर्ति दिनेदेखि, पुरुष पत्रकारका नाममा महिलाले तेल हालेको र महिलाको कार्डमा पुरुषले तेल हालेकोसम्म देख्न पाइन्छ ।

तपाईलाई पनि हेर्न मन भए आउनुस् है, हरेक शुक्रबार मजस्ता पत्रकार सुविधाको तेलको लाइनमा बस्ने अनौठा तेल पत्रकारहरु हेर्न । सान्र्दभिक सामाग्री दबाबाट लिइएको हो ।