कृषिबाट मनग्य आम्दानी गर्दै बेनीका युवा

0 4

(कमल खत्री)
म्याग्दी, १९ माघ । बेनी नगरपालिका– १ आनन्दबगरका रुद्र बहादुर थापाले वैदेशिक रोजगार छाडेर कृषि पेसा अङ्गालेका छन् । लामो समयसम्म वैदेशिक रोजगारीमा भौंतारिएका थापा व्यावसायिक तरकारी खेतीमा लागेपछि जिल्लामै अगुवा कृषकको रुपमा पहिचान बनाउन सफल भएका छन् । विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने यहीँ राम्रोसँग जीवन जिउन सकिन्छ भनेर वैदेशिक रोजगार त्यागेर कृषि पेशामा लागेको थापा बताउँछन् ।

विसं २०४८ सालमा वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थापाले ६ वर्षसम्म विदेशमा बस्दा अपेक्षाअनुसार आम्दानी नभएपछि २०५५ सालदेखि स्वदेश फर्किएर तरकारी खेती सुरु गरेका थिए । उनले भने – “पहिले यहाँ आएर थोरै तरकारी लगाएँ । त्यसबाट राम्रै आम्दानी भयो । पछि हिसाव गर्दा विदेशको भन्दा यहीँको कमाइ राम्रो भएको पाइयो ।”

अहिले ९ रोपनी जग्गामा तरकारी खेती गर्दैआएका उनको वार्षिक आय रु ३ लाखदेखि ४ लाखसम्म हुने गर्छ । थापाले उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारसमेत जितेका छन् । थापाले जस्तै बेनी नगरपालिका १ लामागराका महेन्द्र बोगटी, भुगानेमा कृषि खेती गर्दैआएका नीर बहादुर थापा र तेजबहादुर किसानले समेत व्यावसायिक कृषि पेसाबाट लाखौं आम्दानी गर्दै आएका छन् । जिल्लामा पछिल्लो समयमा कृषि पेसामा युवाको आकर्षण बढ्दै गएको छ । घर परिवारसँगै बसेर कृषि पेसा गर्न पाउँदा आनन्दको अनुभूति मिलेको उनीहरुको भनाइ छ ।

कृषकले अहिले गाजर, काउली, ब्रो काउली, साग, गोलभेंडा बेचिरहेका छन् । उनीहरु जुुगुने, काँक्रो, घिरौंलालगायतका तरकारी पनि लगाउँछन् । बेनपा १ का कृषकहरुले उत्पादन गरेका तरकारी बिक्रीका लागि बजारको समस्या छैन । तरकारी किन्न व्यापारी नै घरमा आउँछन् । उनीहरुको मुख्य बजार भनेको बेनी र बागलुङ हो । बजारको समस्या नभएपनि सोचे अनुसारको बजार मूल्य नपाएको कृषक नीरबहादुरको गुनासो छ ।

उनी भन्छन् – “हामीले तरकारी लगेर त बेच्छौं तर मूल्य व्यापारीहरु दिएकैमा चित्त बुझाएर आउनुपर्छ ।” विभिन्न गैरसरकारी संस्थामा १५ वर्ष काम गरेका थापाले पाँच वर्ष अगाडि बेनपा १ भुगानेमा ६ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती थालेका हुन् । थापा भन्छन् – “खेतीबाट घर व्यवहार राम्रोसँग चलेको छ । आफूलाई चाहिँदा कसैसँग ऋण माग्नु पर्दैन ।” उनीसँगै तेजबहादुर किसानले पनि ६ रोपनी जग्गा भाडामै लिएर तरकारी खेती सुरु गरेका छन् । उनीहरुले २÷२ जना मानिसलाई रोजगारी समेत दिएका छन् । मेहनत र परिश्रम गर्न सकेमा स्वेदशमै आम्दानी गर्न सकिन्छ भन्छन् उनीहरु ।

बेनपा १ लामागराका २९ वर्षीय युवा महेन्द्र बोगटीले घरमै तरकारी खेती गरेर वार्षिक लाखौं रुपैयाँ आर्जन गर्छन् । गर्न सके स्वेदशमै पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन् बोगटीले । लामो समयसम्म सञ्चारकर्मीको रुपमा समेत अनुभव सङ्गालेका बोगटीको अहिले बिहानै उठ्नु, तरकारी लगाएको खेतबारीमा गएर गोडमेल गर्नु, फलफूल तथा तरकारीको स्याहारसुसार गर्नु, तरकारी बोकेर बजार धाउनु दैनिकी बनेको छ । बोगटी आफ्नो पेसाबाट सन्तुष्ट छन् । उनी भन्छन् – “साथीहरु सबै विदेश पुगिसके तर यहाँ तरकारी खेती गर्दागर्दै मलाई विदेश जान मन भएन ।”

बाबुको पालादेखि नै तरकारी खेतीमा लाग्दै आएको भएपनि उनले विगत पाँच वर्षअघिदेखि व्यावसायिक कृषि खेती गर्न थालेका हुन् । बाबुको पालामा ३ रोपनी जग्गामा तरकारी खेती गर्ने गरिन्थ्यो तर अहिले आफ्नै ५ रोपनी निजी जग्गामा उनीे तरकारी खेती गर्छन् । मिश्रित तरकारी खेती गर्दै आएका बोगटीले २ जना मानिसलाई समेत रोजगार दिएका छन् ।

यसपटक बोगटीले थप ३ रोपनी जग्गा भाडामा लिएका छन् । तरकारी खेतीसँगसँगै बोगटीले गड्यौंलाबाट मल उत्पादन गरी बेच्छन् । गमलामा फूल रोप्न गड्यांैलाबाट उत्पादन गरिएको मल उपयोगी हुने भएकाले बजारमा मलको माग बढेको उनले बताए । जिल्ला कृषि विकास कार्यालयबाट आवश्यकता अनुसारको प्राविधिक ज्ञान, स्रोत साधन पाउने हो भने हरेक किसान व्यावसायिक बनेर मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।

यी केही प्रतिनिधि पात्र हुन् । जिल्लामा व्यावसायिक कृषि पेसामा लाग्नेहरुको लहर नै चलेको छ । जिल्लामा अहिले दुईसय भन्दा धेरै युवा व्यावसायिक कृषि पेसामा संलग्न रहेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । स्वेदशमा रहेका युवा भन्दा पनि विदेशबाट फर्केर कृषिमा पेसा लागेकाहरुको सङ्ख्या यहाँ धेरै छ ।

“अहिले युवा लक्ष्यित कार्यक्रममार्फत पनि ६० जनालाई ४० रुपैयाँका हजार दरले रकम दिने गरेका छौं, कोही नयाँ युवा काम गर्ने उत्साहका साथ आए उनीहरुलाई पनि प्रोत्साहन गर्छौं” – उनले भने ।