अन्तरजातीय जोडी ज्यान जोगाउन सदरमुकाममा

0 6

(हेमन्त केसी)
जाजरकोट, १५ माघ । जिल्लाको गर्खाकोट–३ का गणेश चँदारा र ज्योति शाहले अन्तरजातीय विवाह गरेका कारण गाउँ छोड्न बाध्य हुनुपरेको छ ।

विवाह गरेपछि आफ्नो घरमा बस्न नपाएको चार महिनाभयो । घरमा बस्नै नपाएपछि उनीहरुको जोडी गत कात्तिक २३ गतेदेखि सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताउन बाध्य भएका छन् ।

कात्तिक ९ गते अन्तरजातीय विवाह गरेपछि माइती पक्षबाट आक्रमणको प्रयास भएपछि उनीहरु भागेर खलङ्गामा विस्थापित भएका हुन् ।
‘गाउँमा गए ज्यान मार्ने धम्की’ र आक्रमणका प्रयास हुन थालेपछि आफूहरु गत कात्तिकदेखि सदरमुकाममा विस्थापित जीवन बिताउन बाध्य भएको पीडित गणेश सुनारले बताए ।

अन्तरजातीय विवाहका कारण गणेश र ज्योति मात्र होइन गणेशका बुबा कमारो चँदारा, बहिनी यमुना चँदारा, दाइ राजेश चँदारा, भाउजु कल्पना चँदारा र भतिजा निश्चल चँदारा पनि गत चार महिनादेखि सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् ।

गाउँमा जाने वित्तिकै आफूहरुको ज्यानै जाने खतरा भएपछि सदरमुकाममै बसेर विस्थापित हुनु परेको पीडित गणेशका बुबा कमारो चँदाराले बताए । राज्यका निकाय, राजनीतिक दल, मानवअधिकारवादी, पत्रकारसँग ‘जीवन सुरक्षा र घरमा निर्धक्कसँग बस्न पाउने वातावरण बनाइ दिन उनले आग्रह गरे ।’

गाउँमा बस्न नपाएका कारण छोरी बुहारीले पढ्नै नपाएको र माइला छोरा राजेशले स्कुलमा गएर पढाउनै नपाएको चँदाराले बताए । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेर आफूहरुले २०६७ सालमा भागेर विवाह गरेको र ठकुरीकी छोरीले दलितको छोरासँग बिहे गरेको भन्दै ज्योतिका बुबा उत्तमकुमार शाहले आफूबाट ज्योतिलाई खोसेर लिएको गणेशले बताए ।

आफूलाई ज्यानमार्ने धम्की दिँदै ज्योतिलाई गम्भीररुपमा कुटपिटसमेत गरेको गणेशले बताए । ज्योतिले गणेशबाट खोसेर लगेर बुवाले सुर्खेत छिन्चुका स्थानीय गिरी थरका युवासँग बिहे गराइदिएको बताइन् । बिहे गरेको केही समयमै आफूलाई घरमै राखेर ती युवा विदेश गएपछि ९ महिनापछि फेरि माइतीघरमा आएको र चार वर्षसम्म त्यहीँ बसेर पढेको ज्योतिले बताइन् ।

चार वर्षसम्म माइतीमै बसेकी ज्योतिले फेरि गत कात्तिक ९ गते गणेशसँग दोस्रो पटक भागेर बिहे गरेको बताइन् । पहिलो पटक गणेशसँग बिहे गर्दा निकै शारीरिक यातना पाएकी ज्योति अहिले भने माइती पक्षको सम्पर्कबाट बाहिर बसेकी छन् । ‘मलाई जातभातको कुनै मतलव छैन । मेरो सानैदेखिको प्रेम हो, त्यसैले म कुनै पनि हालतमा गणेशसँग छुट्टिएर बस्न सक्दिन’ ज्योतिले भनिन् । उनले दुबै परिवार सचेत भएर मिल्ने वातावरण बनाईदिन सबैसँग अनुरोध गरिन् । विवाहपछि माइतीपक्षले गाउँबाट लखेटेका कारण आफूले कक्षा १२ को पढाइ छोड्न मात्र होइन परीक्षा दिन समेत नपाउने अवस्था आउन लागेको उनले बताइन् ।

आफ्नो जोडीलाई निर्धक्कसँग जिउने वातावरण बनाइदिन स्थानीय प्रशासन, राजनीतिक दल र पत्रकारलाई गणेशले आग्रह गरे । गणेश र ज्योतिको बिहेका कारण आफूले विद्यालयमा गएर पढाउन नपाएको चार महिना बितिसकेको गणेशका दाजु राजेश चँदाराले बताउनुभयो ।

स्थानीय मष्टा प्राथमिक विद्यालय तलीघुइँलाका प्रधानाध्यापकसमेत रहेका राजेशले आफूलाई विद्यालयमा गएर पढाउने वातावरण बनाइ दिन आग्रह गर्नुभयो । ज्योति र गणेशले अन्तरजातीय विवाह गरेपछि गाउँका सबै ठकुरी र उनीहरुका समर्थकहरुले चँदारा परिवारलाई गाउँ निकाला र भौतिक आक्रमणको प्रयास गरिरहेको स्थानीय वीरबहादुर रावतले बताउनु भयो । स्थानीय माओवादी कार्यकर्ता समेत रहेका रावतले चँदारा परिवारलाई गाउँ निकाला गर्न र आक्रमण गर्नका लागि सबै पार्टीमा आवद्ध ठकुरी एकै ठाउँमा रहेको बताउनुभयो ।

उनीहरुको आक्रमणबाट चँदारा परिवारको घरमा आगजनी या अन्य आक्रमणको सम्भावना भएपछि गत पुस २४ गतेदेखि प्रहरीले घरमा पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

उहाँले प्रहरीका तर्फबाट विवाद मिलाउन प्रयास गरिएको र समाजका सबै निकायको सहयोग लिएर समस्या समाधानको पहल गरिरहेको बताउनुभयो । समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।