सूचना प्रविधिको विकासले कृषकलाई सहज

0 10

tarkaribarima

बाबियाचौर (म्याग्दी), १३ माघ । जिल्लाका कृषकले कृषिउपजको बजारीकरणका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् ।

तरकारी, फलफूल र पशुजन्य उत्पादनको बजारीकरणका लागि आधुनिक सूचना प्रविधिको प्रयोगले कृषकलाई सहज भएको छ । मोबाइल, इन्टरनेट, फेसबुक, भाइबर, म्यासेन्जरजस्ता सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कृषकको जीवनशैलीमा परिवर्तन ल्याएको हो ।

आफूले उत्पादन गरेका कृषिउपजलाई बिक्री गर्न, आवश्यकता परेका बीउबिजन, औषधि खरिद गर्न र प्राविधिक परामर्शका लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्दा धेरै सहज भएको बेनी नगरपालिका–१ आनन्दबगरका कृषक रुद्रबहादुर थापाले बताउनुभयो ।

विसं २०५६ देखि व्यावसायिक कृषि पेसामा आबद्ध थापाले सञ्चार, प्रविधिको विकासले गर्दा डोकामा तरकारी बोकेर व्यापारी र घरदैलो चाहर्दै भौतारीनुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो । “रोगकिराको समस्या देखियो भने फोनबाटै प्राविधिकसँग सल्लाह लिन्छाँै” थापाले भन्नुभयो । व्यापारीसँग फोन र सामाजिक सञ्जालमा कुरा गरेर कति मूल्यमा के सामान बेच्ने भन्ने निर्णय गरी बजारमा लैजाने गरेको उहाँको भनाइ छ । सूचनाको प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै झञ्जट हटेको कृषकको अनुभव छ ।

पुराना पुस्ताका कृषकमाझ मोबाइल प्रभावकारी बनेको छ । नयाँ पुस्ताका युवा कृषक भने इन्टरनेटबाट खेती प्रविधिसम्बन्धी जानकारी लिने, फेसबुक र सामाजिक सञ्जालबाट बजारीकरण गर्न अभ्यस्त बनेका छन् ।

खसीबोका बिक्रीका लागि फेसबुकमा तस्बिर राखेर ग्राहकको खोजी गर्न थालेको भकिम्ली– ६ डाँडाखानी स्थित श्रीस बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले बताउनुभयो । फेसबुकको तस्बिर हेरेर ग्राहकले सम्र्पक गर्ने र सोकै माध्यमबाट मूल्य निर्धारण गरी खरिद बिक्री हुने गरेको श्रीसले जानकारी दिनुभयो ।

बजारीकरणका साथै मोबाइलमा इन्टरनेट चलाउन सकिने सुविधा भएपछि नेपालभित्र र विदेशमा प्रयोग भइरहेको नयाँनयाँ प्रविधिका बारेमा जानकारी लिन पनि सजिलो भएको छ । खेतीबाली र पशुमा कुनै रोगको समस्या देखिएमा म्यासेन्जर, भाइबर, भिडियोकल आदिका माध्यमबाट सहरी क्षेत्रमा रहेका कृषि प्राविधिकसँग सल्लाह लिने गरेका छन् ।

प्रविधिले छिटोछरितो सुविधा पाउनुका साथै सम्बन्धित ठाउँमा पुग्नुपर्ने समयको बचत भएको बाबियाचौरका कृषक पुनम खड्का बताउनुहुन्छ । कृषकमाझ छिटोछरितो सेवा प्रदान गर्न सूचना प्रविधिको प्रयोग प्रभावकारी माध्यम बनेको कृषि प्राविधिकको भनाइ छ ।

जिल्ला कृषि विकास र पशु सेवा कार्यालयले वेबसाइट, फेसबुक, रेडियो कार्यक्रम र टोलफ्री नम्बरको व्यवस्था गरेर कृषकलाई सूचनाप्राप्त गर्ने सुविधा दिएका छन् ।