सभापति कोइरालाद्वारा भारतीय प्रम मोदीलाई बधाई

0 9

काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा आफ्नो दल, यसका सदस्य र आफ्नैतर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकार, त्यहाँका राजनीतिक दल र भारतीय जनताप्रति बधाई दिनुभएको छ ।

भारतीय प्रधानमन्त्रीलाई आज सन्देश पठाउँदै व्यवस्थापिका–संसद्मा प्रमुख विपक्षी दलका नेता कोइरालाले नेपाल र भारतबीच आपसी समझदारी, सद्भावना र सहयोगमा आधारमा सरकारी र जनस्तरमा बहुआयामिक सम्बन्ध रहेको बताउँदै बर्साैँ पुरानो यो सम्बन्ध आउँदा वर्षमा अझ फराकिलो र गहिरो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“शान्ति र स्थिरताको जग बनाउनका लागि प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउन भारतले गरेको निरन्तर सहयोगलाई हामी सम्झन्छौँ र नेपाली जनताको इच्छानुसार सम्पूर्ण प्रजातान्त्रिक राज्यव्यवस्थाको ढाँचाभित्र रही सामाजिक–आर्थिक रुपान्तरणलाई जारी राख्छौँ”–सन्देशमा भनिएको छ ।

नेता कोइरालाले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको निरन्तर कामना पनि गर्नुभएको छ ।