कार दुर्घटनामा एक सांसदसहित चार घाइते

0 10

तनहुँ, १२ माघ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा माओवादीबाट सांसद बन्नुभएका काठमाडाँै महानगरपालिका हात्तीवन निवासी ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारैजना घाइते भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा सांसद शाही सामान्य घाइते हुनुभएको छ ।

उक्त दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त कारका चालक सांसद शाही नै भएको बुझिइएको छ ।