लिबियाली संसदबाट संयुक्त सरकारको प्रस्ताव अस्वीकृत

0 7

बेङ्घाजी (लिबिया), ११ माघ । अन्तर्राष्ट्रिय समर्थन प्राप्त लिबियाली संसदका एक सदस्यले संसदबाट संयुक्त राष्ट्रसङ्घद्वारा अघि सारिएको संयुक्त सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ ।

संसदको अधिवेशन बैठकमा सोमबार उपस्थित १४० सांसद सदस्यमध्ये ९० जनाले प्रस्तावको विपक्षमा मतदान गरेको लिबियाली सांसद ऐसा अल अरेबीले बताउनुभयो ।

त्यसैगरी ८४ सदस्यले राजनीतिक सहमतिका विरुद्ध मतदान गरेका पनि उहाँले बताउनुभयो ।

गएको केही महिनादेखि संयुक्त राष्ट्रसङ्घको पहलमा भएको वार्तापछि संयुक्त सरकार र राजनीतिक सहमतिका लागि सरकार र प्रतिपक्षका केही नेता संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा नयाँ सरकार बनाउन सहमत भएका थिए ।

लिबियामा लामो समय सत्ता सम्हालेका तानाशाह मोहमर गद्दाफीलाई सन् २०११ मा सत्ताबाट पदच्युट गरिएपछि यहाँको राजनीतिमा समस्या देखिँदै आएको छ ।