हैटीमा व्यापक प्रदर्शन, हिंसाको त्रासमा सुरक्षा कडाई

0 12

पोर्ट अ प्रिन्स, १० माघ । हैटीको सडकमा शनिबारदेखि दशौँ हजारको सङ्ख्यामा सरकारका विरुद्धमा प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनमा दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

आइतबारका लागि तय गरिएको आमनिर्वाचनको मतदान कार्यक्रम अकस्मात स्थगित गरेपछि आक्रोसित बनेका नागरिकले राष्ट्रपतिको राजिनामाको मागसहित प्रदर्शन गरेका हुन्

सो प्रदर्शनमा सहभागी नागरिकले हैटीका राष्ट्रपतिको राजिनामाको माग गरेका छन् । उनीहरुले अर्काे निर्वाचनको मिति नतोक्न र तुरुन्त सत्ताबाट हट्न राष्ट्रपतिलाई दबाब दिइरहेका छन् ।

हैटीमा दोस्रो चरणको निर्वाचन आइतबारका लागि तोकिएको थियो । तर पनि सो निर्वाचनमा शान्ति सुरक्षाको कारण देखाउँदै निर्वाचन आयोगले ४८ घन्टामात्र अघि निर्वाचन स्थगित भएको सूचना जारी गरेको थियो ।

त्यसपछि आक्रोसित नागरिकले राष्ट्रपतिको राजिनामा माग गरेका हुन् । उनीहरुले नागरिकका लागि सरकारले केही गर्न नसकेको र भूकम्पपछि हैटीबासी भोकभोकै परिरहेको पनि बताएका छन् ।

प्रदर्शनमा उत्रेका नागरिकले यसअघिको निर्वाचन पनि धाँधली गरिएको भन्दै त्यो खारेज हुनुपर्ने बताएका छन् ।

राजधानी पोर्ट अ प्रिन्समा जम्मा भएका प्रदर्शनकारीहरुले आगजनी गर्ने प्रयास गरेका र राष्ट्रपतिको कार्यालयतर्फ बढेका थिए ।

त्यसपछि परिस्थितिलाई नियन्त्रणमा लिनका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।