दृष्टिबिहीन युवा रोजगारीको खोजीमा

0 5

जुम्ला, ७ माघ । यहाँका दर्जन बढी दृष्टिबिहीन युवा यतिबेला रोजगारीको खोजीमा भौंतारिरहेका छन् ।

आफूले प्राप्त गरेको योग्यता तथा सीपलाई राज्यले प्रयोगमा ल्याउने अवसर नदिँदा आफूहरु रुमलिनु परेको उनीहरु बताउँछन् । “हामीसँग पढाउने, कार्यालयमा आर्थिक तथा प्रशासनिक काम गर्ने दक्षता छ, तर पनि कर्णालीका कुनैपनि सरकारी तथा गैरसरकारी निकायले दृष्टिबिहीनलाई अवसर दिएका छैनन्”– कर्णाली नेत्रहीन सङ्घ मुख्य कार्यालय जुम्लाका अध्यक्ष धनप्रसाद न्यौपानेले भन्नुभयो ।

अध्यक्ष न्यौपानेका अनुसार जुम्लामा स्नातकोत्तरमा अध्ययनरत तीन, स्नातकमा चार र प्रवीणता पत्र तहमा सात जना दृष्टिविहीन अध्ययनरत छन् । सबै क्षेत्रमा काम गर्ने हैसियत हुँदा पनि अपहेलित भएर बस्न बाध्य पारिएको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।

साक्षरका साथै निरक्षर दृष्टिबिहीनसँग सिलाइकटाइ, बुनाइ, विभिन्न व्यापार, व्यवसाय गर्नसक्ने आर्यआर्जनको सीप छ, तर त्यही सीप प्रयोग गर्ने स्थान नहुँदा आफूहरु पीडामा खेप्नुपरेको सङ्घका सदस्य परशुराम आचार्यले बताउनुभयो । उहाँले लक्षित वर्गमा दर्ज गरेपनि त्यहीअनुसार राज्यका स्थानीय निकायले अवसर दिन कञ्जुस्याईँ गरेको आरोप लगाउनुभयो ।

त्यस्तै सिंजा नराकोट गाविसमा सञ्चालिन दृष्टिबिहीन विद्यालयलाई सरकारले सही व्यवस्थापन गर्न नसक्दा त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था दयनीय रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

दृष्टिबिहीनको शैक्षिक अधिकार प्राप्ति गर्न र सो विद्यालयको उचित व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यालयमार्फत शिक्षा मन्त्रालयमा जानकारी गराएको सङ्घले जनाएको छ ।