भूकम्पपीडित भन्छन् राहत अस्थायी हो, दिगो सीपमूलक कार्यक्रम चाहियो

0 9

(आदित्य दाहाल)
मेलम्ची, ४ माघ । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन तथा लैङ्गिक हिंसा न्यूनीकरण र अस्थायी आवाससम्बन्धी कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन् ।

स्वास्थ्य खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत लागर्चे गाविसको लागर्चे माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालय र स्वास्थ्य चौकीमा गरी १२ वटा, थाङ्पालकोटको रैथाने माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालयमा १३ वटा, बरुवाको विभिन्न विद्यालय र स्वास्थ्य चौकीमा गरी १६ वटा र अन्य विभिन्न गाविसमा गरी जम्मा ८२ वटा संस्थागत चर्पी निर्माण गरी वितरण गरिएको सामुदायिक आत्मनिर्भरता केन्द्रको कार्यक्रम संयोजक रश्मी पण्डितले बताउनुभयो ।

भूकम्पपछि जिल्लाका बरुवा, भोताङ र बाँसखर्कका खानेपानी योजनाहरु कतिपय पहिरोले पुरिएका र भूकम्पका कारण फुटेका भोताङको घ्यूघर खानेपानी योजना, बरुवाको डालेगाउँ खानेपानी योजनालगायतका योजनामा पाइपलाइन विस्तार तथा मर्मत सम्भारका लागि चाहिने सम्पूर्ण सामग्री गरी रु ११ लाख १७४ लगानीमा उक्त योजना मर्मत गरिएको केयर नेपालमा कार्यरत खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका प्राविधिक सुरज परियारले बताउनुभयो ।

उक्त तीन संस्थाको साझेदारीमा खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि भूकम्पबाट अतिप्रभावित गाविसमध्येको बरुवा, बाँसखर्क, दुवाचौर गाविसका किसानका लागि धानको बीउ, कोदोको बीउ तथा तरकारी उत्पादनका लागि आलु, केराउलगायतका बीउबिजन वितरण गरिएको र टनेल निर्माणका लागि आवश्यक सामग्री दिएको केयर नेपालका जिल्ला प्रमुख जीवन केसीले बताउनुभयो ।

भोताङ, बरुवा र बाँसखर्कका अति विपन्न परिवार, अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी महिला, मृतक परिवार र नाबालकको पहिचान गरी उक्त तीन गाविसका एक हजार एक सय घरधुरीलाई निःशर्त प्रतिघर रु १५ हजारका दरले रु १६ करोड पाँच लाख वितरण गरिएको हो ।

महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले समाजमा बढिरहेको लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनले पहिलेको तुलनामा लैङ्गिक हिंसा निकै कम भएको र लैङ्गिक हिंसासम्बन्धी ज्ञान प्राप्त भएको बाँसखर्कका विद्यार्थी निर्मला श्रेष्ठ बताउनुहुन्छ ।

भूकम्पपछि कियर नेपाल र सामुदायिक आत्मनिर्भर केन्द्रको सहयोगमा पहिलो चोटी टनेलभित्र गोलभेँडा उत्पादन गरेको र उक्त गोलभेँडा बिक्रीबाट रु १३ हजार मुनाफ भएको र अझै उत्पादनअनुसार रु ३३ हजारभन्दा बढी नाफा आर्जन गर्न सकिनेमा आफू विश्वस्त भएको बाँसखर्क– २ का रेक्पा तामाङ बताउनुहुन्छ ।

संस्थाले तरकारी उत्पादनका लागि बीउबिजन, औषधि र औषधि प्रयोगका लागि पम्पसमेत वितरण गरेकाले उक्त व्यवसायबाट मुनाफा आर्जन गर्न सफल भएको तामाङको भनाइ छ । तरकारी व्यवसायबाट फाइदा हुने भएपछि गाउँभरि नै उत्पादन गर्नका लागि बाँसखर्कका स्थानीयवासीलाई उहाँले उत्प्रेरित गर्ने बताउनुभयो ।

भूकम्पअघि गाउँका प्रायः बासिन्दाले तरकारी किनेर खानुपरेको थियो तर भूकम्पपछि गाउँमा तरकारीदेखि लिएर उत्पादनमूलक स्वरोजगार प्रदान गरेको र खानेपानी निर्माणले समेत बाँसखर्कवासी निकै खुसी भएको बाँसखर्क गाविसकी स्थानीयवासी तथा सामुदायिक आत्मनिर्भरता केन्द्रमा कार्यरत सपना बोम्जनले बताउनुभयो ।

भूकम्पमा पुरिएका सम्पूर्ण सामग्री अहिलेसम्म निकाल्न नसकेको गुनासो गर्दै बरुवा– ९ की ७५ वर्षीया वृद्धा पिङ्गाई तामाङ भन्नुहुन्छ – “भूकम्पमा परेर ढाड र दुवै खुट्टा अहिलेसम्म राम्रोसँग चल्दैन, अन्न पुरीएपछि खाने सामग्री र पकाउने भाँडाकुँडासमेत केयर नेपाल नामक संस्थाको साझेदारीमा पाएर बाँच्ने थप हौसला दिएको उहाँको भनाइ छ ।”

त्यतिमात्र होइन भूकम्पले घरबारविहीन बनाएकाले चिसो मौसम कसरी कटाउने भन्ने पीडालाई कम्बल, डस्ना र लगाउने कपडा पाएपछि आर्थिक विपन्न परिवारले थप सेवा पाएको उहाँको भनाइ छ ।

संस्थाको राहत केही समयका लागि मात्र रहने भएकाले अब दिगो हुने किसिमको सीपमूलक कार्यक्रम ल्याउनुपर्नेमा बरुवावासीको भनाइ । संस्थाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा भौगोलिक अवस्था र उत्पादनको हिसाबले ठाउँअनुसारको बीउ र उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने बरुवाका कृषक पासाङ लामाको धारणा रहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा जनचेतना, उत्पादनमूलक कार्यक्रम, स्वास्थ्यसम्बन्धी कार्यक्रम, भूकम्पबाट टुटेफुटेका खानेपानी आयोजनाको मर्मत, लैङ्गिक हिंसा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालनले ठूलो राहत मिलेको र आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको बाँसखर्कका वाङ्दी दोङ बताउनु हुन्छ ।