एमालेद्वारा नगरपालिकामा तालाबन्दी

0 10

बैतडी, २८ पुस । नगरपालिका गठन गरिने कर्मचारी पदपूर्ति समितिको संयोजकमा दयाकृष्ण भट्टलाई एकलौटी रुपमा घोषणा गरिएको भन्दै नेकपा (एमाले)ले सोमबारदेखि दार्चुलाको अपि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

नगरपालिकामा कर्मचारी अभाव भएपछि काम गर्न समस्या भएको र कर्मचारीको पदपूर्तिका लागि पदपूर्ति समितिले पूर्णता नपाउँदा अपि नगरपालिकामा कर्मचारी अभाव रहेको थियो ।

राजनीतिक विवादका कारण हालसम्म पदपूर्ति समितिले पूर्णता पाएको थिएन । अपि नगरपालिकाको तेस्रो नगर परिषद्को समापन गर्ने बेलामा नगरपालिकका कार्यकारी अधिकृत वीरेन्द्रसिंह धामीले नेपाली काँग्रेस समर्थक दयाकृष्ण भट्टलाई समितिको संयोजकमा चयन गरिएको घोषणा गरेपछि नेकपा (एमाले)का प्रतिनिधि गणेश जोशीले विरोध जनाउनुभएको थियो ।

राजनीतिक पार्टीहरुसँग छलफल नगरीकनै संयोजक तोकिएको भन्दै नगरपालिकामा एमाले समर्थकहरुले तालाबन्दी गरेका छन् ।
नेकपा (एमाले)ले प्रेश विज्ञप्ति जारी गरी नेपाली काँग्रेसले दिएको आर्थिक प्रलोभनमा परी पद र प्रतिष्ठाको ख्याल नगरी कार्यकारी अधिकृतको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ ।

साथै स्थानीय प्रशासनलाई छानबिनका लागि अनुरोध गर्ने र आजदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको अपि नगरपालिका, दार्चुलाका नेकपा (एमाले)का प्रतिनिधि गणेश जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।