प्रथम महिला सहिद पत्रकार उमा सिंहको सातौँ स्मृति दिवस

0 15

(हिमांशुकुमार चौधरी)

जनकपुरधाम, २७ पुस । आज हत्या यस्को भए, भोलि हत्या उसको ।
पर्सि हत्या कस्को होला, पर्सि होला देशको ।।
नेपालीको रगतले नेपाल रगताम्य ।
यो हत्या र पागलपन कहिले होला साम्य ?

प्रथम महिला सहिद पत्रकार उमा सिंह हत्याको सातौँ स्मृति दिवसका सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी हरफ अहिले पनि हत्या र हिंसाको लहर साम्य हुने आशाका सञ्चार प्रवाह गर्ने र आमाबाबुको मनोविज्ञानलाई दर्शाउँछ ।

पत्रकार सिंहलाई सात वर्षअघि व्यावसायिक धर्म निर्वाहका क्रममा प्रेस स्वतन्त्रता विरोधीले त्रूmरतापूर्वक हत्या गरेकाले आज पनि यस क्षेत्रमा लागेकाहरु घर फर्किनमा ढिला हुँदा आमाबाबुको मन आत्तिने गर्छ ।

पाँच महिनादेखि तराई–मधेसमा जारी आन्दोलनमा पनि सञ्चारकर्मीलाई राज्य र आन्दोलनकारीको पक्षबाट भइरहेको आक्रमणको मानसिक पीडा हरक्षण दिमागमा छाइरहेको छ । साङ्घातिक आक्रमण गरी हत्या गर्नेहरु अहिले पनि पाशविक किसिमले वस्तुनिष्ठ पत्रकारितालाई सङ्कटमा पारी भौतिक तथा सुरक्षाको सवाललाई निरीह बनाउन उद्यत छन् ।

सिंह पत्रकारिता पेसामा प्रवेश गरेदेखि नै असुरक्षित महसुस गर्थिन्, किनभने उनका दाजु र बुबाको अपहरण गरी हत्या गरिएको थियो । उनी स्वयम् पनि छोटो समय अपहरणमा परी मुक्त भएकी थिइन् । यो पृष्ठभूमिलाई उनी प्राज्ञिक हैसियतलाई खरो उतार्न र आफ्नो परिवार विरुद्धको अन्यायसँग जुझ्न चाहन्थिन् ।

यसैले उनी सिरहा छाडी जनकपुर सरिन् र पत्रकारिताको साधनामा लीन भइन् । छोटो समयमा उनी व्यावसायिक पत्रकारका रुपमा स्थापित भइन् । यसबाट उनमा हिम्मत बढ्यो । त्यो हिम्मतले उनी समाजमा व्याप्त अन्याय र आफूले भोगेको अन्यायविरुद्ध कलमद्वारा लड्न अग्रसर भइन् । सिरहा मिर्चैयाको जग्गा हडप विवादमा संलग्न समूहको अत्याचारको विरुद्ध अनुसन्धानमूलक ढङ्गले सार्वजनिक गर्न उनी अगाडि सरिन् ।

उनले काठमाडाँैबाट प्रकाशित केही पत्रपत्रिकामा खोज–आलेख लेखिन् । यसबाट उनी तिनै व्यक्तिहरुका लागि चुनौतीका रुपमा देखा परिन्, जसले उनको पारिवारिक सम्पत्ति कब्जा गरेको थियो । त्यो समूह र त्यसमा रहेका आपराधिक कार्यकर्ताले उमालाई धेरै कोणबाट आफ्ना लागि खतराका रुपमा देख्न थाले ।

विसं २०६५ पुस २७ गते ती समूहबाट नै उनको हत्या गरियो, जसले पटक–पटक धम्की दिएका थिए, त्यसैले पनि राष्ट्रकवि घिमिरे यी हरफको प्रश्न सान्दर्भिक देखिन्छ ः

मर्ने पनि मार्ने पनि दुबै साथमा
नेपाल आमा मसानघाटमा आँसु लिई हातमा,
यही आँसुको जलाञ्जली यही आँसुको श्राप
मै कसरी दिउँ भनी गरिरहेछिन् विलाप
नेपालको रगतले नेपाल रक्ताम्य
यो हत्या र पागलपन कहिले होला साम्य ?