राष्ट्रिय एकता आजको आवश्यकता

0 10

विराटनगर, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुक अहिले पनि सङ्क्रमणको अवस्थामा रहेकाले राष्ट्रिय एकताका आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनको पहिलो चरणमा आउन सक्ने जटिलतालाई सहमतिका साथ समाधान गर्न राष्ट्रिय एकता आवश्यक रहेको प्रस्ट पार्नुभयो ।

महामन्त्री सिटौलाले भूकम्पपछिको पुनःनिर्माण र संविधानको कार्यान्वयन सबैको साझा दायित्व रहेको बताउँदै संविधानको पहिलो चरणको कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्वका लागि स्थानीय निकाय, प्रदेश, राष्ट्रियसभालगायत निर्वाचन हुनु अत्यावश्यक रहेको धारणा प्रकट गर्नुभयो ।

मधेसी मोर्चासँग सकारात्मक ढङ्गले छलफल भइरहेको जानकारी गराउँदै उहाँले संविधान संशोधनलगायत सबै विषयको छलफल र निकास दिने माध्यम संसद् नै रहेकाले केही दिनमै परिमार्जनसहित संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेसको महाधिवेशनको तिथि कुनै पनि हालतमा सार्न नसकिने जानकारी गराउँदै महामन्त्री सिटौलाले १३औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको सम्भावना रहेको बताउनुभयो ।