निर्वाचन क्षेत्र विकासका लागि इलामलाई छ करोड १० लाख बजेट

0 7

 

इलाम, १९ पुस । निर्वाचन क्षेत्र विकासका लागि सरकारले इलाम जिल्लालाई चालु आव ०७२÷७३ का लागि रु छ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीनवटा निर्वाचन क्षेत्रका लागि रु एक करोड ५० लाखका दरले र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सांसदले थप रु २० लाखका दरले ६० लाख पाउने गरी कुल रु पाँच करोड १० लाख विनियोजन गरेको हो । रु एक करोड ५० लाखका पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि निर्वाचित सांसदले १२ वटा योजना छनोट गर्नुपर्ने जिल्ला विकास समितिले जनाएको छ ।

समानुपातिकतर्फ रु २० लाखका दरले पाँचजना सांसदको रु एक करोड प्राप्त भएको जिविसले जनाएको छ । निर्वाचन क्षेत्र नं १ का झलनाथ खनाल र क्षेत्र नं २ का सुवासचन्द्र नेम्वाङले योजना छनोट गरिसके पनि निर्वाचन क्षेत्र नं ३ का सांसद केशव थापासहित समानुपातिक सांसद कुलबहादुर गुरुङ, सुजता परियार, सूर्यवाला राई, लीला श्रेष्ठ र नागेन्द्र कुमालले योजना छनोट गर्नुभएको छैन ।

यो वर्ष समयमा नै बजेट कार्यान्वयनको अख्तियारी आएकाले विगतमा जस्तो बजेट दुरुपयोग हुन नसक्ने गरी कार्यान्वयन गरिने स्थानीय विकास अधिकारी मदन कोइरालाले बताउनुभयो ।

यसअघि आवको अन्त्यतिर बजेट कार्यान्वयन थालिने भएकाले विनियोजित रकम बराबरको काम नभएको सरोकारवालाको भनाइ छ ।

बालनगाउँमा होमस्टे सञ्चालन

‘एक जिल्ला, एक उत्पादन’ अन्तर्गत इलाम नगरपालिका–९ बालनगाउँमा निर्माण गरिएको सामुदायिक घरबास कार्यक्रम (होमस्टे) सञ्चालनमा आएको छ ।

सरकारको सार्वजनिक निजी साझेदारी कार्यक्रम अनुसार इलामका लागि पहिचान गरिएको पर्यटन विकास कार्यक्रमअन्तर्गत बालनगाउँमा गतवर्षदेखि होमस्टे बनाउन सुरु गरिएको थियो ।

नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घको सहकार्यमा रु ३५ लाखमा होमस्टे सञ्चालन गरिएको हो । यहाँका छ घर लिम्बू र चार घर नेवारी समुदायमा होमस्टे निर्माण गरिएको छ ।

इलाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मध्यनजर राख्दै बालनगाउँमा होमस्टे सञ्चालन गरिएको इलाम उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष नुतनदेव दुलालले बताउनुभयो ।

उक्त बजेटबाट पर्यटकका लागि सामुदायिक भवन, होमस्टे सञ्चालन गर्ने स्थानीय बासिन्दालाई अतिथि सत्कारदेखि खाना बनाउने तालिम, पर्यटकको सुविधाका लागि खानेपानीको उचित प्रबन्ध गरिने उपाध्यक्ष दुलालले उल्लेख गर्नु भयो ।

यहाँबाट इलामको रमाइलो दृश्यावलोकन, नेपालकै पुरानो चिया बगानलगायतका दृश्यावलोकन गर्न सकिने भएकाले सदरमुकाम घुम्न आउने पर्यटकलाई राख्न बालनगाउँमा घरबास कार्यक्रम सञ्चालन गरेका हौँ – दुलालले भन्नुभयो ।

You might also like More from author