ब्याजदर घट्दा पुँजी पलायनको खतरा

0 11
काठमाडौं:पौष १७ शुक्रबार   लगातार घट्दै गएको निक्षेपको ब्याजदरले पुँजी हुने खतरा बढेको छ।
बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम भएका कारण अहिले निक्षेपको ब्याजदर ज्यादै न्यून छ । तराई आन्दोलन र भारतको नाकाबन्दीका कारण लगानीको वातावरण खुम्चदै जाँदा पुँजी पलायनको सम्भावना बढेको हो।
अहिले वाणिज्य बैंकरूले औसतमा एक वर्षे मुद्दती निक्षेपमा चार प्रतिशत ब्याज दिने गरेका छन्। ट्रस्ट रिसिप्ट (वस्तु आयात गर्दा लिने कर्जा)मा सात प्रतिशतसम्म ब्याजदरमा ऋण दिएका छन्।
नेपालमा विगतदेखि नै सस्तो ब्याजदरमा ऋण लिने र भारतमा मुद्दती निक्षेपमा लगानी गर्ने केही व्यवसायी सक्रिय छन्। भारतीय बैंकको कर्जा निक्षेप तथा अन्य योजनाको अध्ययन गर्ने वेवसाइट बैंकबजार डटकमका अनुसार अहिले भारतीय बैंकले एक वर्षे मुद्दतीमा साढे सातदेखि साढे आठ प्रतिशतसम्म ब्याजदर दिने गरेका छन्।
यसरी सात प्रतिशतमा लिएको ऋण साढे आठ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेपमा राख्दा साढे एक प्रतिशत ब्याजदर व्यवसायीलाई मुनाफा हुन्छ । सामान आयातका लागि पतितपत्र (एलसी) खोल्ने र त्यो अनुपातको सामान आयात नगरेर बाँकी रकम भारतमा मुद्दती निक्षेपमा राख्ने घटना विगतमा पनि देखिएको थियो।
भारतले लगाएको नाकाबन्दीका कारण कालोबजारी बढेको छ । अहिले कालोबजारीबाट इन्धन आयातको अर्बौ रुपैयाँ भारत गएको छ। सीमावर्ती क्षेत्रमा अहिले ठूलो मात्रामा नेपाली रुपैयाँ होल्ड भएर बसेको अवस्था छ।
‘नाका खुल्नासाथ यसरी होल्ड भएको नेपाली रुपैयाँ नेपाल आउँछ’,राष्ट्रबैंकका एक अधिकृतले भने,’ यसको विकल्पका रूपमा भारतीय रुपैयाँ ,सुन र चाँदीको प्रयोग हुन्छ।’ राष्ट्रबैंकले व्यक्तिको आवश्यक्ता अनुसारको भारतीय रुपैयाँ पुर्‍याउन सक्दैन। ‘यसरी अनौपचारिक कारोबार बढ्दै जादा पुँजी पलायन हुने खतरा छ’,ती अधिकृतले भने।
नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौड्याल लगातर निक्षेपको ब्याजदर घट्दै जाँदा पुँजी पलायनको खतरा बढेको बताउँछन्। ‘नेपाल र भारतबीचको कर्जा र निक्षेपको अन्तरमा खेल्नेहरू जहिले पनि सक्रिय हुन्छन्’, उनले भने, ‘नेपालमा निक्षेपको ब्याजदर घट्दो क्रममा छ। यसरी पुँजी पलायन हुँदा आगामी दिनमा तरलता अभावको सिर्जना हुन सक्छ।’
तराई आन्दोलन र भारतको नाकाबन्दीका कारण लगानीको वातावरण खुम्चदै जाँदा पुँजी पलायनको सम्भावना बढेको हो।
नेपालको बैंकिङ क्षेत्रमा तरलता छिटो छिटो उतारचढाव हुने गर्छ । केही महिना अगाडि आयोजित सार्वजनिक कार्यक्रममा बैंकरले नेपालमा कर्जा लिने र भारतमा मुद्दती निक्षेपमा पैसा राखेर फाइदा लिने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका थिए।
राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जाको शूक्ष्म निगरानी राख्न निर्देशन दिएपछि उखु किसानलाई भुक्तानी गर्न लिइएको ऋण भारतीय बैंकमा राखेको घटना पाइएको थियो। उखु किसानले भुक्तानी नपाएको तर,बैंकबाट कर्जा गएको र त्यो रकम भारतीय बैंकमा राखिएको घटना करिब एक वर्ष अगाडि सार्वजनिक भएको थियो।
राष्ट्रबैंकका अनुसार विदेशी मुद्रामा भएको निक्षेपसहित पुसको पहिलो सातासम्म वाणिज्य बैंकहरूसँग मात्र १५ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप छ। यस्तै कर्जा लगानी ११ अर्ब ४६ अर्ब रुपैयाँ छ। बैंकमा तरलता बढेको भन्दै राष्ट्रबैंकले हरेक साता निक्षेप संकलन, ट्रेजरी बिल्समाफर्त बैंकमा भएको तरलता खिच्दै आएको छ।
राष्ट्रबैंकले निक्षेप संकलनबाट मात्रै बैंकबाट एक खर्बभन्दा बढी रकम लिइसकेको छ। ‘कर्जाको माग नहुने तथा राजनीतिक अवस्थामा सुधार नहुँदा अनुत्पादक क्षेत्रमा लगानी केन्द्रीत हुने खतरापनि बढ्दै छ’,बैंकर्स संघका अध्यक्ष पौड्यालले भने,‘ खासगरी रियलस्टेट र सेयर बजारमा लगानी केन्द्रीत हुने सम्भावना छ।’
अहिले राजनीतिक अनिश्चिताको कारण अन्य क्षेत्रको व्यवसाय प्रभावित भए पनि सेयर बजार प्रभावित भएको छैन। यसको एउटा प्रमुख कारण निक्षेपमा पाउने कम ब्याजदर हो।
पछिल्लो एक महिनामा मात्र रियलस्टेट क्षेत्रमा ३० करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढेको छ। यस्तै बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा धिने मार्जिन लोन एक महिनाको अवधिमा ९४ करोड रुपैयाँ बढेको देखिएको छ।
भारतीय नाकाबन्दीको कारण सबैजसो उपभोग्य वस्तुको आयात घटेपनि बिलासी मानिएको सुनको आयात भने घटेको छैन। अघिल्लो वर्षको कात्तिक महिनासम्ममा एक अर्ब ४१ करोड रुपैयाँको सुन आएकोमा अहिले सात अर्ब ७६ करोड रुपैयाँको सुन आएको छ।
‘निक्षेपको ब्याजदर ओरालो लाग्नु, सुन आयात बढ्नु र नेपालको कर्जाको ब्याजदरभन्दा भारतमा निक्षेपको ब्याजदर बढी हुँदा पलायन हुने गरेको छ’, एक वाणिज्य बैंकका अधिकृतले भने,’ अहिले सबै तथ्य मिलेका छन्। यसको नतिजा केही महिनामा देखिन्छ।’